नेपालले ४० मेगावाट विद्युत बङ्गलादेशलाई निर्यात गर्ने भएको छ । आज तीन देशका ऊर्जामन्त्रीले भर्चुअल रूपमा उद्घाटन गर्दै नेपालले पहिलो पटक ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात गर्न लागेको हो ।
आज उद्घाटनसंगै राति १२ बजेसम्म नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत गएर नेपाल–बङ्गलादेशबिच विद्युत व्यापारको औपचारिक सुरुवात हुने बताईएको छ । गत असोज १७ गते भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विद्युत बंगलादेश पठाउन लागेको हो ।
नेपाल, भारत र बङ्गलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बङ्गलादेशमा विद्युत निर्यात हुने भएपनि अहिले निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
बङ्गलादेशलाई विद्युत बिक्री गर्दा नेपाललाई प्रतिमहिना ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणको अनुमान छ । नेपालले विद्युत निर्यात गर्दा प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट प्राप्त गर्ने बताईएको छ ।