दार्चुलामा भएको जिप दुर्घटना परि ८ जनाको मृत्यु भएको छ । आज बिहान शैल्यशिखर नगरपालिका -६ काे बकजेबलामा दार्चुलाको मालिकार्जुन जात्राबाट फर्केका दर्शनार्थी चढेको म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् ।
उक्त दुर्घटनामा परि ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार शैल्यशिखर-५ लेकगाउँका ३० विरेन्द्र रावल, उनकै श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर-९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखक, बैतडीको डिलासैनी गाउँपालिका-५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय विरेन्द्र बोहराको मृत्यु भएको हो ।
त्यसैगरी उक्त दुर्घटनामा २ जना भारतीय नागरिक युपी बस्ने मोहम्मद सालीर र मोहम्मद बसीमको मृत्यु भएको छ । डीएसपी दाहालका अनुसार विरेन्द्र रावल र मिना लेखकको अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घाइते चार जनाको उद्धार गरेर गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको दुर्घटनाग्रस्त जिप सडकबाट तीन सय मिटर तल खसेर भीरको रुखमा अड्किएको छ ।