मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत छिर्कनदेखि देउराली क्षेत्रमा यातायात बन्द हुने भएको छ । सडक निर्माण कार्यलाई तीव्रता दिनका लागि आगामी मंसिर ३ गतेदेखि २३ गतेसम्म आंशिक रुपमा यातायात बन्द गर्न लागिएको हो ।
राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरिने र त्यसपछि आधा घण्टा आवागमन खुल्ला गरी पुनः बिहान ४ बजेसम्म बन्द हुने सडक योजना कार्यालयले जनाएको छ । कार्यालयले सो अवधिमा सवारीसाधन रोक्दा र चलाउँदा आफ्नो लेन अनुशासन कायम राख्न पनि सचेत गराएको छ ।
‘यस अवधिमा सवारीसाधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्नहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ । अटेरी गरेर त्यस्तो कार्य गरेको पाइएमा नियमानुसार कडा कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।