विदेश जानुअघि नेपाली युवालाई विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले निःशुल्क योग सिकाउने भएको छ । समाजले विदेश जानुअघि नेपालीलाई निःशुल्क रुपमा २ सयदेखि ४ सय घण्टासम्म योग सिकाउन लागेको हो ।
समाजले राजधानीमा आयोजना गरेको वृहत युवा भेलामा संस्थापक आचार्य राजन शर्माले विदेश जानुअघि नेपाली युवालाई निःशुल्क योग सिकाउने जानकारी दिएका हुन् । कार्यक्रममा योगगुरु डा हरिप्रसाद पोखरेलले योग भूमि एवं हिमालयको देश नेपालमा ऋषिमुनिले तपस्या गरेको उल्लेख गर्दै नेपालमा योग, ध्यान सिक्न विदेशबाट समेत वार्षिक हजारौँ मानिस आउने गरेको बताएका थिए ।
त्यसैगरी सहप्राध्यापक श्रीराम सापकोटाले सुख र दुःख आफ्नै कारणले हुने विचार राखेको उक्त भेलामा पूर्वसचिव भीम उपाध्यायले यस्ता कार्यक्रमले युवालाई उत्प्रेरित गर्ने बताएका थिए । उक्त भेलामा सुखसूत्र, योगदर्शन र प्राकृतिक चिकित्सा, आयुर्वेद अमृत दर्शन र विज्ञान भैरवतन्त्र गरी चार पुस्तक समेत विमोचन गरिएको थियो ।