कैलालीको गौरीगंगा नगरपालिका–११ मा बाख्रा चोरी गरेको निहुँमा एक जनाको हत्या गरिएको छ । बाख्रा चोरी गरेको निहुँमा गौरीगंगा नगरपालिका–११ कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको हत्या भएको हो ।
बाख्रा चोरी गरेको निहुँमा भुललाई कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार बाख्रा चोरी गरेको निहुँमा कातिक २४ गते शनिबार राति भुललाई कुटपिट गरिएको थियो । कुटपिटबाट घाइते भएको भुलको उपचारका क्रममा सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको हो ।
भुलमाथि कुटपिट गर्ने गौरीगंगा–११ को कान्तिपुर बस्ने युवतीसहितका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक रहेको डीएसपी बोहराले जनाएका छन् । उनीहरुमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरेको छ ।