भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धमाधम अन्तर्राष्ट्रिय उडान सुरु भएका छन् । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिँजो तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दै उडान थालेको हो ।
उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समयपछि नेपाल वायुसेवा निगम, जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । हिँजो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान भएको थियो ।
विमानस्थल उद्घाटन भएपछि पहिलोपटक एकै दिन तीनवटा अन्तर्राष्ट्रिय उडान भएसंगै यसले आगामी दिनमा व्यावसायिक उडानहरु बढ्न सहयोग पुग्ने बताईएको छ । गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गरेका हुन् भने फ्लाई दुबईले पहिलोपटक उडान सञ्चालन गर्न लागेको हो ।
अहिले गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ । थाई एयर एसियाले कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ ।
त्यसैगरी गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ । उडान तालिकाअनुसार हिँजो बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण गरेर भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किएको थियो । जजिराले सातामा ३ दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।
फ्लाई दुबईको विमान पहिलोपटक भैरहवा विमानस्थलमा अवतरण भएको हो । दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आएको र भैरहवाबाट यात्रु लिएर विमान काठमाडौँ हुँदै दुबई फर्किएको थियो । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई-भैरहवा र भैरहवा-काठमाडौँ-दुबई उडान गर्ने बताईएको छ ।