आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती विविध कार्यक्रमको अओजना गरी मनाइँदैछ । १९४२ कात्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको आज १४०औँ जन्मजयन्ती मनाउन लागिएको हो ।
महागुरु फाल्गुनन्दको किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्त्वपूर्ण योगदान रहेको पाईन्छ । उनले समाजसुधारका लागि नीति निर्माण गरेका थिए जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ भने उक्त ‘सत्य धर्म मुचुल्का’ १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।
छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष ‘सत्य धर्म मुचुल्का’ मा समेटिएका छन् ।
फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपरेका थिए भने उनले देशद्रोहीको अभियोग समेत खेप्नुपरेको थियो ।
सरकारले किरात समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । किरात समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतका स्थानमा फाल्गुनन्द जयन्ती मनाइन्छ ।
फाल्गुनन्दको १४०औँ जन्मजयन्तीको अवसरमा आज कोशी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो ।