भिजिट भिसामा युएई र कुवेत जान लागेका २० जना युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काइदिएको छ । बिहीबार बेलुकी हिमालयन एयरलाइन्सको उडानबाट युएई र कुवेत जान लागेका उनीहरुलाई अध्यागमन कार्यालयले फर्काइदिएको हो ।
शंकास्पद रूपमा भिजिट भिसामा युएई र कुवेत जान लागेका उनीहरुलाई अध्यागमन कार्यालयले फर्काइदिएको बताईएको छ । उनीहरुलाई मानव तस्करीका रूपमा खाडी मुलुक पठाउन लागेको आशंका गर्दै फिर्ता गरेको अध्यागमन कार्यालयका अधिकृत यज्ञराज अर्यालले जानकारी दिएका छन् ।
भिजिट भिसामा कुवेत र युएई जान विमानस्थल पुगेकामध्ये ४ जना कुवेत र बाँकी १६ जना युएई जाने भनेर बोर्डिङ पास लिएर अध्यागमन पास लिन राति साढे ८ बजेदेखि ९ बजेको समयमा त्यहाँ पुगेका थिए ।
त्यहाँ पुगेका मध्ये केहीको भिसा लागेको ठाउँ र बोर्डिङ पास लिएको ठाउँ फरक फरक पाइएको, भिसामा शंकास्पद अवस्था भेटिएको र कतिपय कार्यविधिसँग मेल नखाने अवस्थामा भेटिएकाले फिर्ता गराइएको अध्यागमन कार्यालयले जनाएको छ ।