Advertisement Banner
Advertisement Banner

११ बिहिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

२३ शुक्रबार , कार्तिक २०८१२ महिना अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको हो ।  

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि राति १० : ०० देखि बिहान ८ : ०० बजेसम्म दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।

हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्ने लागेको बताईएको छ ।

यसअघि विमानस्थल बिहान ६ : ०० बजे खुलेर राति २ : ०० बजेसम्म सञ्चालन हुँदै आएको थियो । अब स्तरोन्नतिका क्रममा राति १० : ०० देखि बिहान ८ : ०० बजेसम्म हुने भएपछि करिब ५ महिना अब उक्त समयका सबै उडान कटौती हुनेछ भने उक्त कामको लागि १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ ।

नेपालमा अहिले ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार ३ सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ : ०० देखि बिहान ६ : ०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो ।

विमानस्थलमा हाल आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् ।