काठमाडौंको चन्द्रागिरीमा आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन् । कैलालीको टिकापुर नगरपालिका–४, बस्ने २३ वर्षीय एलिस ढकाल सुनसहित समातिएका हुन् ।
चन्द्रागिरी नगरपालिका–२, नागढुंगास्थित चेक प्वाइन्टमा हिजो नेपालगञ्जदेखि काठमाडौंतर्फ आउँदै गरेको लु।प्र।०३–००१ ख ००९९ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उनी सुनसहित फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ढकाल बसको अन्तिम सिटमा बसेका थिए । शंका लागी उनले बोकेको झोला खानतलास गर्दा कालो रंगको टेपले बेरेर लुकाईछिपाई सुन ल्याएको पाइएको प्रहरीको भनाइ छ ।
उनको साथबाट प्रहरीले ५०२ ग्राम सुन बरामद गरेको छ । उनीमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।