धार्के–सितापाइला सडक खण्ड १५ दिनका लागि बन्द भएको छ । काठमाडौंको सीतापाइला र धादिङको धार्के जोड्ने उक्त सडक खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएकाले बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार कात्तिक २३ गतेदेखि १५ दिनका लागि सडक बन्द गर्न लागिएको बताईएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएसंगै धार्के–सितापाइला सडकखण्ड यसअघि पनि कात्तिक ४ गतेदेखि बन्द गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले कात्तिक २१ गते जारी गरेको पछिल्लो सूचना अनुसार कात्तिक २३ गतेदेखि १५ दिनसम्म सडक बन्द हुनेछ । उक्त अवधिमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र हलुका सवारी साधन (चारपांग्रे)बाहेकका सबै प्रकारका सवारी साधनहरुलाई पूर्णरुपमा रोकिने बताईएको छ ।
उक्त सडकको विकल्पमा गल्छी–विदुर–छहरे–टोखा वा धार्के–नौबिसे–नागढुंगा सडक प्रयोग गर्न पनि जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।