आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको र त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको लोक कथा अनुसार सोहि समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित रहेको र सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन नसक्ने भएकाले सूर्य किरणको आफ्नै खालको विशेषता भएको पाईन्छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा समेत छ ।
त्यसैले छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास समेत रहेको पाईन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्दछन् ।
तराई र मधेशसँगै राजधानीका नदी तथा तलाउमा पनि छठ पूजाको निम्ति आवश्यक तयारी पूरा भएको छ भने राष्ट्रपति पौडेल दिउँसो साढे ३ बजे गौरीघाट पुग्ने र साढे ४ बजे कमलपोखरीमा छठ पूजाको शुभारम्भ गर्ने बताईएको छ । त्यस्तै आज रातभर जाग्राम र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुनेछ ।