राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा आज पनि रास्वपाले विरोध प्रदर्शन गर्ने भएको छ । रास्वपाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो ४ बजे पोखरा लगायत विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।
पार्टी सभापति लामिछानेको पक्राउ विरुद्ध रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेको छ भने हिँजो भएको प्रदर्शनमा निषेधित घेरा तोडेको भन्दै १५ जनालाई प्रहरीले पक्राउ गरेको र भिड नियन्त्रण गर्न ४ राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो । कार्यवाहक प्रवक्ता झाले विज्ञप्तिमार्फत शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेकाप्रति घोर भर्त्सना समेत गरेका छन् ।