डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजित बजेटबाट पालिकाभित्र स्थायी बसोबास गर्ने प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनरत विद्यार्थीलाई शैक्षिक ऋण दिन लागेको हो ।
अध्ययनमा उत्कृष्ट र अति विपन्न परिवारका विद्यार्थीलाई प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गर्न पाँच लाख रुपैयाँ कर्जा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । यसका लागि नगरपालिकाले इच्छुक विद्यार्थीलाई आवेदन पेश गर्न समेत आह्वान गरेको छ ।
पालिकाको शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका, २०८१ बमोजिम योग्यता पुगेका विद्यार्थीले आवश्यक प्रक्रिया पुर्याएर आजदेखि आगामी मंसिर २० गतेसम्म आवेदन फाराम बुझाउन सक्नेछन् ।
दरखास्तका साथ नागरिकताको प्रमाणित प्रतिलिपि, ऋण लिन चाहेको तहभन्दा एक तहमुनिको सम्पूर्ण शैक्षिक प्रमाणपत्र, परिवारका सदस्यमध्ये कम्तीमा दुई जनाको मञ्जुरीनामा पत्र, वडा कार्यालयको सिफारिस र विद्यार्थी भएको प्रमाणित हुने सम्बन्धित शैक्षिक संस्थाको पत्र पनि पेश गर्नुपर्ने छ ।