राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिस भएका छन् भने आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको सिफारिस भएको छ । हिँजाे बसेको बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको हो ।
प्रमुख आयुक्तमा सिफारिस भएका डा.आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् भने विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष र अर्का सदस्य भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य हुन् ।
ऐनको दफा ११ काे उपदफा ३ अनुसार प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस गर्न सभामुख देवराज घिमिरेको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ । साेहि व्यवस्था अनुसार सिफारिस समितिले उनीहरूको नाम प्रस्ताव गरेको हो ।
प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिसलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने र मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ खुवाउने कानुनी व्यवस्था रहेकाे छ । उक्त समितिको सदस्यमा सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी छन् ।