कस्तो लोकतन्त्र यो? राजतन्त्र मान्ने राप्रपा नेपालका अध्यक्ष कमल थापालाई दोस्रो बरियताको उपप्रधानमन्त्री बनाएर सरकार चलाइरहेका छन् केपी ओली। उनको सरकारमा संघीयता मानिदैन भन्ने चित्रबहादुर केसी पनि छन्। केसीको पार्टी संघीयताविरोधी आन्दोलनमा छ। अर्थात संविधानप्रति राजनीतिक सहमति छैन।र, हिन्दूराष्ट्र अभियन्ता खुमबहादुर खड्को जोडबलले नेपाली कांग्रेसका सभापतिमा बिजयी भएका छन् शेरबहादुर देउवा।
सरकारभित्रैबाट अभिव्यक्ति आउँछ– संवैधानिक राजतन्त्र पुनर्स्थापना गरिछाड्छौं, हिन्दूराष्ट्र घोषणा गराउँछौं गराउँछौं। संघीयता चाहिदैन, देश फुटाउन पाइदैन। र, कांग्रेसभित्रैबाट नारा लाग्छ– हिन्दूराष्ट्र फर्काउँछौं, फर्काउँछौं। कांग्रेसका महामन्त्रीमा चुनाव जितेका छन्– सशांक कोइरालाले। उनले खुलेरै भनिदिए– राजनीतिक सहमतिका लागि सबैले पुनर्विचार गर्नुपर्छ। अन्यथा संविधान कार्यान्वयन हुनैसक्दैन। सशांक वीपीका पुत्र हुन् र उनको सिद्धान्त भनेकै वीपीवाद हो। वीपीवाद भनेको राष्ट्रियता, राजतन्त्र र खुला अर्थतन्त्रको त्रिखुट्टीमा अघि बढ्नुपर्छ भन्ने हो।
राप्रपा नेपाल र कांग्रेसका खुमबहादुर खड्काको लोली र बोली दुबै मिलेको छ। दुबैको चुनौति छ– यो बिबादका हल भनेको जनमत संग्रह हो। जनमत संग्रह गरौं, जनमतले दिएको निर्णय सबैले मानौं। तर, ९१ प्रतिशतले बनाएको संविधानवादीहरु जनमत संग्रहको कुरै सुन्न चाहदैनन्। उनीहरुलाई थाहा छ– धर्मनिरपेक्षता जनताले मागेकै होइनन्, आफैले थोपरिदिएको हो। जनमतसंग्रह भयो भने ९३ प्रतिशत ऊँकार परिवारले हराइदिन्छन्, नेपाल हिन्दूराष्ट्र हुन्छ। हुन पनि अन्तरिम संविधानमा नेपाल कसरी धर्मनिरपेक्ष घोषणा भयो– भन्ने सम्बन्धमा लक्ष्मण घिमिरे, सुशिल कोइराला, कूलबहादुर गुरुङहरु सुतेका थियौं, थाहै पाइएन भन्थे। नयाँ संविधानमा धर्मनिरपेक्ष कसरी घुस्यो भन्ने सम्बन्धमा सबैले तत्कालीन सभामुख सुभाष नेम्वाङतिर ट्वाल्ला परेर हेर्छन्। भनिन्छ, उनैले क्रिश्चियनहरुको आदेशमा संविधानभित्र धर्मनिरपेक्षता भन्ने शव्द घुसाइदिएका हुन्। यसबारेमा सभासदहरुले थाहै पाएनन्। संविधान घोषणा भएपछि बोल बोल मछली मुखभरि पानी भयो सबैको।
कांग्रेस र एमाले दुबै संविधान कार्यान्वयनका लागि अग्रसर छन्। संविधानविरोधीलाई काखी च्यापेर सरकार र पार्टी चलाउनेहरुले कसरी संविधान कार्यान्वयन गर्छन्। ओलीको संविधान कार्यान्वयन भनेको सत्ता लम्ब्याउनु हो, कांग्रेसको संविधान कार्यान्वयन भनेको आफ्नो नेतृत्वमा सरकार निर्माण गर्नु हो भने एमाओवादी पनि छ, जो ओलीका प्रमुख सहयोगी दल हुन्। यसका अध्यक्ष प्रचण्ड आफै नेतृत्व गर्नका लागि राष्ट्रिय सरकारको नारा लगाइरहेका छन्। संविधानलाई उत्कृष्ठ त भनियो तर हेर्दा देखिन्छ– न हाँसको चाल, न कुखुराको चाल। यस्तै हुन्छ संविधान?