असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाको कारण आएको बाढीपहिरोले बन्द भएको रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएको छ । अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि सञ्चालनमा आएको हो ।
उक्त राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । सञ्चालनमा आएसँगै रसुवागढी–केरुङ राजमार्गबाट मङ्गलबार ४ कन्टेनर स्याउ, २ कन्टेनर नस्पाति र ३ कन्टेर ओखर आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
त्यसैगरी केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएको पनि भन्सार कार्यालयले जानकारी दिएको छ ।
उक्त राजमार्ग बन्द भएर आयात ठप्प हुँदा दुई अर्ब ५० करोड राजस्वमा ह्रास आएको भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले जानकारी दिएका छन् ।