बुद्ध भारतको उत्तरप्रदेशमा जन्मेका हुन् भन्ने दावीसहित भारतले नक्कली कपिलवस्तु संग्रहालय बनाएको छ। ३ अर्व खर्च गरेर भारतले बुद्ध भारतमै जन्मेका हुन् भनेर जुन भ्रम फिजाउन खोजेको छ, त्यसको प्रतिउत्तरमा नेपालले वैशाख ६ र ७ गते काठमाडौंमा गर्ने 'द बर्थ प्लेस अफ लर्ड बुद्ध एण्ड द फाउन्टेन अफ बुद्धिज्म' नामक अन्तर्राष्ट्रिय गोष्ठीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कुनै पनि हालतमा उपस्थित गराउनै पर्ने आवश्यकता देखिएको छ।
यी तिनै मोदी हुन्, जसले नेपालको संसदमा उभिएर नेपाललाई बुद्धको जन्मभूमि भनेका थिए र जर्मन पुगेर बुद्ध भारतका हुन् भन्ने दावी समेत गरेको सुनियो।बैशाख ८ गते २५६०औं बुद्धजयन्ती मनाइने कार्यक्रमका लागि अनेक समितिहरु निर्माण गरिएका छन्। राष्ट्रसंघका महासचिव वान कि मुन, श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंगे, विश्वमा ख्यातिप्राप्त बुद्धदर्शनका प्राज्ञिक व्यक्तित्व र अनुसन्धानदाताहरु बुद्ध गोष्ठी र बुद्धजयन्ती मनाउन नेपालमा आउने भएका छन्। यो अवसरमा भारत पनि सहभागी भयो भने बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मेसेज विश्वव्यापी हुनसक्छ र भारतले फैलाउन खोजेका सबै भ्रमहरु निस्तेज हुनेछन्। यसकारण भारतका प्रधानमन्त्री मोदीलाई यसपटकको बुद्धजयन्ती समारोहको प्रमुख अतिथिका रुपमा किन ननिम्तयाउने?
संस्कृति मन्त्री आनन्द पोखरेलले भारतका प्रधानमन्त्रीलाई निम्तो पठाएको बताएका छन् तर भारतले कुनै जवाफ दिएको छैन। यति महत्वपूर्ण अवसरको सदुपयोग गर्नका लागि स्वयं प्रधानमन्त्री, राष्ट्रपति सक्रिय हुनुपर्नेमा प्रधानमन्त्री चीनको सयरमा निस्केका छन् भने राष्ट्रपति उदासिन रहेको देखिन्छ। यस्तो अवसर विरलै जुट्नेगर्छ। अधिकांश बुद्धदर्शन मान्ने मुलुकको सहभागिता हुने यसपटकको बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रियकरण गर्न सरकार सजग भइदियो भने बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विषयको विवाद सधैका लागि अन्त्य हुनेथियो। बुद्ध जन्मथलो लुम्बिनी हो र बुद्धधर्मको स्रोत नेपाल हो भन्ने जानकारी दिन र बुद्धधर्म पर्यटन विकास गर्ने यति महत्वपूर्ण अवसरको जिम्मेवारी एउटा संस्कृति मन्त्रीले कसरी पूरा गर्न सक्लान् र? यस मामिलामा सबै राजनीतिक दलहरु र सिंगो सरकारले सम्पूर्ण शक्तिका साथ बुद्ध जयन्तीमा ध्यान दिनुपर्ने बेला थियो यो। त्यस्तो देखिदैन।
भारतले ४० वर्ष पहिले नै उत्खनन गरेर 'ओम देभपुत्र विहार कपिलवस्तु संघ' र महा कपिलवस्तु विखु संघ' लेखिएका दुई वस्तु भेटिएका थिए, ती प्रमाणका आधारमा बुद्ध युपीमा जन्मेका हुन् भनेर भ्रम फैलाउने कार्य सुरु गरिसक्दा पनि देशभक्त भनिएका नेताहरु कानमा तेल हालेर बसेका छन्। भारतले नेपालको कपिलवस्तु होइन भारतको कपिलवस्तुमा बुद्ध जन्मेका हुन् भनेर प्रमाणित गर्ने षडयन्त्र गरिरहेको छ। भारतले तैयार पारेको सबुद्ध संग्रहालय बुद्धको जीवनबारेका कलात्मक बस्तुहरु संग्रहित पहिलो संग्रहालय भएको दावी समेत प्रचारप्रसार गरिरहेको छ।
भारत बुद्धबारे यति अघि बढिसकेको सन्दर्भमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख आतिथ्य बनाएर बुद्ध सम्बन्धि विशेष गोष्ठीमा उपस्थिति गराउन सके सिंगो भारतको भ्रम टुट्नसक्ने थियो।