गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि नेपाल बीमा प्राधिकरणले एक करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्राधिकरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोडको चेक हस्तान्तरण गरेको हो ।
प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक सिंहदरबारमा हस्तान्तरण गरेको हो । यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघ, संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् भने व्यक्तिगत रूपमा पनि कोषमा रकम जम्मा भएको छ ।
यता सरकारले बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । सरकारले राहत उपलब्ध गराउन अति प्रभावित, प्रभावित क्षेत्र घोषणा गरेर सोहि मार्फत विपद् प्रभावितलाई राहत उपलब्ध गराउदै आएको छ ।