बडादसैँमा बागलुङ कालिका मन्दिरमा ४५ लाख भन्दा बढी भेटी सङ्कलन भएको छ । बडादसैँको अवसरमा असोज महिनामा ४५ लाख २७ हजार भेटी सङ्कलन भएको हो ।
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार मन्दिरमा बडा दसैँ र चैते दसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुने गरेको छ । वर्षभरी हुने भेटीमध्ये ६० प्रतिशत भन्दा बढी दसैँमा सङ्कलन भएको गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिएका छन् ।
असोज महिनामा भेटीमार्फत २२ लाख ८० हजार, परेवा बिक्रीबाट ११ लाख ३६ हजार २ सय ५०, सटर भाडा ३ लाख ८५ हजार, बोकाको बली शुल्कबाट ४ लाख ४ हजार, चामल बिक्रीबाट रु ९६ हजार सङ्कलन भएको बताईएको छ ।
त्यसैगरी कुखुरा बली शुल्कबाट ३० हजार ८ रुपैयाँ, राँगा बलीबाट १८ हजार ४ सय, विवाह शुल्क १० हजार ५ सय, आर्थिक सहयोग १ लाख ४७ हजार ८ सय ७१, पण्डितबाट प्राप्त शुल्क १६ हजार ४ सय र व्रतबन्धबाट ३ सय आम्दानी भएको समितिका अध्यक्ष खड्काले जानकारी दिएका छन् । जसमध्ये असोजमा तलब, पूर्वाधार, कर्मचारी सुविधा, पानी, विद्युत लगायतमा १३ लाख ९० हजार खर्च भएको छ उक्त रकम खर्च भएको छ ।
चाड पर्वको समयमा कालिका मन्दिर दर्शन गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको र दसैँमा मात्रै ४ लाख दर्शनार्थी मन्दिर दर्शनका लागि आएको गुठीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।