Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

शिक्षकको तलबभत्ता भुक्तानी नहुनुको कारण पठाउन निर्देशन

०२ शुक्रबार , कार्तिक २०८१एक बर्ष अगाडि

शिक्षकको तलबभत्ता भुक्तानी नहुनुको कारण पठाउन निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दशैँमा शिक्षकको तलबभत्ता भुक्तानी नहुनुको कारण मागेको छ । केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गर्दै कतिपय स्थानीय तहबाट शिक्षकको दशैँ बिदाअघिसम्म पनि तलबभत्ता भुक्तानी नहुनुको कारणसहित विवरण पठाउन निर्देशन दिएको हो ।

परिपत्रमा उल्लेख छ, ‘केही स्थानीय तहबाट चालु आर्थिक वर्षमा दशैँ बिदाअघिसम्म पनि शिक्षकलाई तलबभत्ता नखुवाएको गुनासो प्राप्त भएकोले सबै शिक्षा विकास तथा समन्वय एकाइहरुलाई आफ्नो जिल्लाभित्र दशैँ बिदा अगाडिसम्म शिक्षकको तलबभत्ता नखुवाउने स्थानीय तहले पूरै वा आंशिक तलबभत्ता नखुवाउनुको कारणसहित विवरण केन्द्रमा उपलब्ध गराउनुहुन अनुरोध छ ।’

चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा विद्यालयले शिक्षक र कर्मचारीको तलबभत्ता बैंकमार्फत भुक्तानी गर्नेका साथै शिक्षकलाई मासिक रुपमा तलबभत्ता उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख छ । यसका लागि विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलबभत्ता स्थानीय तहमा माग गर्नुपर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई शिक्षकलाई मासिक रुपमा तलबभत्ता भुक्तानी गर्नुपर्छ ।

तर, कतिपय पालिकाले गत साउनदेखि शिक्षकको तलबभत्ता उपलब्ध नगराएको गुनासो आएपछि केन्द्रले यस्तो निर्देशन दिएको हो । केन्द्रले शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि भनेको छ ।