Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

यात्रुसँग बढी भाडा असुल्नेहरु ट्राफिक प्रहरीको नियन्त्रणमा

२३ बुधबार , आश्विन २०८१एक बर्ष अगाडि

यात्रुसँग बढी भाडा असुल्नेहरु ट्राफिक प्रहरीको नियन्त्रणमा

बडादशैंमा घर फर्किने यात्रुको चाप बढेसंगै यात्रुसँग बढी भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका विभिन्न स्थानबाट १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंको बल्खुबाट एउटा सवारीसाधन सहित आठ, नयाँ बसपार्कबाट ६ र कोटेश्वरबाट तीन गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । हिँजो पनि बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा बुझाएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार ट्राफिक प्रहरीले जाँचकै क्रममा निजी नम्बर प्लेटका सवारी साधनले प्रयोजन विपरित भाडामा यात्रु बोकेको अवस्थामा २ ओटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो ।

काठमाडौँ उपत्यकाका १४ स्थानमा चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको र त्यहाँबाट यात्रुको गुनासो सम्बोधन गर्ने गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिएका छन् ।

यात्राका क्रममा कसैले अनावश्यक दुखः दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन समेत अनुरोध गरिएको छ ।