Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सामाजिक संघसंस्थाको स्थापना समाज परिवर्तनको एक आधार

२२ मंगलबार , आश्विन २०८११० दिन अगाडि

सामाजिक संघसंस्थाको स्थापना समाज परिवर्तनको एक आधार

संघसंस्था भन्नाले सामुहिक उद्देश्य लिएर सामूहिक उपलब्धि हासिल गर्ने समूह भन्ने बुझिन्छ र यो मुख्यत्ः  व्यवसायिक, राजनीतिक, आर्थिक, सामाजिकजस्ता क्षेत्रमा सामान र सामूहिक उद्देश्य प्राप्तिका लागि एकजुट हुनु हो ।

जस्तै मानिस आफू एक्लैले कुनै ठूलो उद्देश्य हासिल गर्न नसक्ने अवस्थामा यो सङ्गठन वा समूहको आवश्यक पर्दछ र परेको हुन्छ । नेपालको सन्दर्भमा नेपालको संविधान सामाजिक संस्था ऐन, २०७५ मा रहेर नेपालमा आफ्ना कामकारबाही थालनी गरेको गराएको हुनुपर्छ ।

र, आज म विसं २०६० सालदेखि यता झण्डै बीस वर्षसम्मको यो अवधिमा एक दर्जन बढी सामाजिक, राजनीतिक लगायत विभिन्न संघसंस्थामा आबद्ध भएर मैले अनुभव गरेको कुरालाई छोटकरीमा चर्चा गर्ने र संघसंस्था सुधारका लागि गरिनुपर्ने आवश्यक प्रयत्नका बारेमा जानकारी दिने कोसिस गरेको छु ।

साथै, सामाजिक संघसंस्थाको स्थापना समाज परिवर्तनको एक आधार कसरी बन्न सक्छ ? यो विषयमा पनि छोटकरीमा चर्चा गरेको छु । पाँच मिनेट समय निकालेर पूरा पढ्ने कोसिस गर्नुहोला ।

हुने विरुवाको चिल्लो पात भन झैं विभिन्न सामाजिक संघसंस्थामा पनि त्यसको जग वा त्यसको आधार कस्तो छ त्योले केही हदसम्म प्रभाव पार्छ र त्यो प्रभावलाई नै सम्झेर हिजोदेखि चल्दै आएको छ, चल्दै जान्छ भनेर मुख्य जिम्मेवारी पदाधिकारीले भन्दै जाने र सल्लाहकार संरक्षकज्युहरुले पनि सुन्दै बस्यो भने त्यो संगठन सही तौरतरिकाले अगाडि बढ्न सक्दैन् ।

र, त्यो कार्यसमितिले रचनात्मक सुधारसँगै राम्रो सामूहिक सफलता हात पार्न सक्दैन् । त्यो व्यावसायिक क्षेत्रमा होस् या त्यो परोपकारी काममा होस् समुदायमा विभिन्न उद्देश्यले स्थापना हुने संघसंस्था, क्लब, परिषद्, संगठन, समिति, मञ्च, केन्द्र, फाउण्डेशन आदि मात्र नभएर विदेशी मुलुकसँग जनमैत्री वा साँस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले स्थापना हुने मैत्री संघ वा सांस्कृतिक संघ समेत यसभित्र पर्दछन ।

यस्ता संघसंस्थाको मुख्य उद्देश्यमा प्रायः पेशागत हकहित संरक्षण गर्ने, समुदायको विकास, पर्यावरण संरक्षण , कुनै अधिकार सुनिश्चितता सुशासन वा सामाजिक न्यायको पैरवी गर्ने जस्ता कुराहरु भेटिन्छन र नेपालको संविधानले दिएको संस्था स्थापना गर्ने नागरिक स्वतन्त्रताअन्तर्गत प्रत्येक नेपाली नागरिकलाई अन्य नेपाली नागरिकसँग मिली ऐन वा प्रचलित कानूनको अधिनमा रही समाजमा संघसंस्था खोल्ने, स्थापना गर्ने र सचालन गर्न दिएको स्वतन्त्र अधिकारलाई प्रयोग गर्दै खोलिएका र सञ्चालनमा रहेका हुन्छन्  ।

सामाजिक संघसंस्थाभित्र धेरै किसिमका विचारहरु हुने गर्छन् । ती फरकफरक विचारको मिश्रणलाई नै सामाजिक संस्था विकासको मुल आधार मान्न सकिन्छ । त्यसैले संस्थाभित्र फरक विचार उत्पन्न हुँदा या कुनै पदाधिकारी वा जिम्मेवारी लिएको व्यक्तिबाट नयाँ प्रस्ताव वा कुनै संकल्प आउँदा नेतृत्वले आत्तिनुहुँदैन बरु जति सक्दो धेरै विचारहरु आउन सहजीकरण तथा सहज वातावरण तयार गर्ने कोसिस गर्नुपर्छ ।

जसरी उखुको सारो डाँड तिखो जति डरलाग्दो छ त्योबाट त्यति नै गुलियो र स्वादिष्ट जुस (झोल ) निक्लिने गर्छ, त्यसैले संस्थाभित्र वादविवाद फरकफरक प्रशङ्ग आउने गर्छन् र यस्ता कुराको सही तरिकाले समन्वय गरेर उखुबाट जसरी स्वादिष्ट झोल निकालिन्छ, त्यसैगरी समूहमा आउने फरकफरक प्रशङ्गको पनि त्यसलाई सही र आवश्यक समन्वय गरेर संघसंस्थामा परिवर्तन तथा संस्थाको विकास गर्न सकिन्छ र संस्थागत रूपमा रहदै गर्दा पदाधिकारी बीच बोलिने भाषा शैली गरिने ब्यवहार पनि जति सक्दो विनम्रता हार्दिकता हुनपर्छ ।

सबै पदाधिकारीले सबै पदाधिकारीसँग सधैं शिष्टता कायम राख्ने कोसिस गर्नु पर्दछ । यसो गर्नाले सबैबिच सबैको भाइचाराको सम्बन्ध बढ्नुका साथै आत्मियता बढेर जान्छ संस्थागत सफलता प्राप्तसँगै मित्रगत् भाव पनि बढेर जान्छ ।

अध्यक्ष वा सभापति अथवा नेतृत्वमा दाबी गर्दै गर्दा निर्वाचनमा जित्नको लागि जे पनि बोल्दिने, जति नि बोल्दिने गर्नहुदैन् । आफ्नो क्षेत्र अधिकारभित्र रहेर साँच्चिकै गर्न सकिने कुरा मात्र बोल्नुपर्छ सम्भावित कुरामा मात्र प्रतिबद्धता गर्दै अगाडि जानपर्छ र निर्वाचत भैसके पछि धेरैको चलन हुन्छ ढुलमुले (दोधारे) चरित्र देखाउने पछाडि नहेर्ने यो पनि एउटा नेतृत्वको गलत हो ।

यसले आउँदा दिनहरूमा आफ्नो पुरानै प्रभाव कायम राख्न असहज बनाउँछ । त्यसैले हारे पनि जिते पनि सबैसँग गरिँदै आएको समन्वय सहकार्य कायमै राख्न जरुरी हुन्छ । किनकि सय रंग कपडा राम्रो एक रंग मानिस राम्रो भने जस्तै आत्तिनु पनि भएन, मात्तिनु पनि भएन सामुहिक कर्ममा निरन्तरता दिन बुद्धिमान हुन्छ ।

अहिलेसम्म मैले देखेको नेतृत्वमा जानका लागि धेरैले संघर्ष गरेका छ्न र अहिले पनि धेरै मानिस संघर्षरत छन् । यी मध्य थोरैले मात्रै त्यो महत्त्वपूर्ण अवसर पाउँछन् त्यसका लागि सबै न्दा ठूलो कुरा त्याग तपस्या र आफुले गर्दै आएको राम्रो कामको निरन्तरता हो ।

संघसंस्था, क्लब, परिषद्, संगठन, समिति, मञ्च, केन्द्र, फाउण्डेशनभित्र मात्र नेतृत्व हुन्छ भन्ने हैन सरकार नेतृत्वदेखि एउटा सानो परिवारको पनि नेतृत्व हुने गर्छ र यी सबै ठाउँका नेतृत्वहरु सहि भयो भने नेतृत्वमा दुरदर्शिता, पारदर्शिता इमान्दारिता भयो भने त्यो सामाजिक संघसंस्था होस् एउटा घरको परिवार होस या त्यो कुनै राज्य सबैमा नयाँ नयाँ आशाहरु पलाउँछ । त्यसभित्र सुःख, शान्ति सुरक्षा कायम हुनुका साथै गुणात्मक सुधार अनि गुणात्मक विकास समृद्धिको बाटोहरु चौडा फराकिलो हुँदै जान्छ ।

संघसंस्था कस्तो हुनुपर्छ भन्ने प्रशङ्गमै एउटा सिर्जना पढौ –

संघसंस्था भनेको रातो फुल जस्तै हुनपर्छ ।
अझै भनौ सफा पनिको मुल जस्तै हुनपर्छ ।

साथी संङ्गी आउँछन् जान्छन् त्यस्तो भन्नहुन्न
साथी संङ्गी रमाइलो मेलाको हुल जस्तै हुनपर्छ ।

म चाहन्छु संस्थाको नाम बेचेर गलत नहोस् 
संस्था खोला तर्न बनाएको पुल जस्तै हुनपर्छ ।

दुई दिनको जिन्दगीमा तँछाडमछाड किन गर्ने 
देवतालाई चढाउन बनाएको तूलजस्तै हुनपर्छ ।

सामाजिक संस्था कै बारेमा धेरै प्रश्न आउँछ
संस्था भनेको सिक्ने सिकाउने सामुदायिक स्कुल जस्तै हुन पर्छ ।

हरेक कुरामा दुइटा पक्ष दुइटा पाटो हुने गर्छ एउटा हो सकारात्मक र अर्को हो नकारात्मक । हामी जहिले पनि निरन्तर सकारात्मक बाटोमा हिँड्ने कोसिस गर्नुपर्छ त्यसको लागि आफ्नो अगाडि हजारौं कुरा नकारात्मक आए पनि आफुले त्यसलाई सकारात्मक हिसाबले लिने र सकारात्मक हिसाबले लिदा कुनै दुर्घटना पनि हुन सक्छ ।

भएका पनि छन त्यसको लागि सम्भावित दुर्घटना सामना गर्ने सकारात्मक अठोट पनि हामीभित्र हुन जरुरी हुन्छ र यसो भन्दै गर्दा खाने कुरामा पनि राम्रो र नराम्रो गरि दुई थरी हामीले लिन्छौं खान्छौ र हाम्रो शरीरले जसरी नराम्रो कुरा छानेर बाहिर फाल्छ र राम्रो कुरा हाम्रो शरीरमा राख्छ र त्यही राम्रो कुरा ले हाम्रो शरीरमा शक्ति प्रधान गर्छ ।

यदि त्यो नराम्रो कुरा हाम्रो शरीरमा अत्याधिक गयो भने हामी बिरामी हुन्छौं हो त्यस्तै हाम्रो अगाडि सकारात्मक नकारात्मक सबै कुराहरु आउँछन्, त्यसबाट हामीले सकारात्मक मात्रै लियौ भने हामी बिरामी हुन पर्दैन यसबाट हामीले के बुझ्न सकिन्छ भने राम्रोसँग नराम्रो पनि हुन्छ र नकारात्मकसँगै सकारात्मक पनि हुन्छ हामी कहिल्यै पनि बिरामी नहुन सकारात्मक कुरा मात्र हाम्रो दिमागमा राख्न परो ।

र, यो कुरा मानवीय जीवनमा मात्र नभई संघसंस्था समूहमा पनि जहिल्यै सकारात्मक कुराको मात्र संस्थागत गर्ने गर्नाले संघ संस्था समुह पनि कहिल्यै बिरामी हुने छैनन्  । समूहभित्र सानो सोच राख्नेहरु बाट प्रायः नकारात्मक कुराको मात्र बारम्बार वकालत हुनेगर्छ । सकारात्मक कुरालाई पनि बाङ्गो बनाएर नकारात्मक बनाउने र त्यसैमा आफ्नो निकै ठुलो सफलता ठानेर रमाउनेहरु पनि हुन्छन् ।

तिनिहरुले आफूबाहेक अरु कसैलाई देख्न नसक्नु आफुले आफै लाई सर्वश्रेष्ठ ठान्नु मैले गरेको मात्रै ठिक बाकी अरुले गरेको कुराको गलत ब्याख्या गरि नकारात्मक भास्या निर्माण गर्नु धेरै जनाको अगाडि आफ्नै सहकर्मीलाई होच्याउनेजस्ता कामुक ब्यक्तिहरु पनि हाम्रै वरिपरि धेरै हुन्छन् । तिनीहरु एकदिन ढिलो चाडो सकिएर जान्छन् । एक भनाइ छ जुन भाडा चुइन्छ त्यही भाडा अगाडि रित्तिनुपर्छ ।

कुनै वस्तुमा आउने सकारात्मक र प्रगतिमूलक परिवर्तन नै विकास हुनु हो । अर्थात् कुनै पनि वस्तुमा आउने नयाँपन विकास हो। सामाजिक घटना, प्रक्रिया, संरचना आदिमा आउने सकारात्मक परिवर्तनले समाज विकासको बाटो लाई डो¥याउछ ।

यसलाई छोटकरीमा भन्नुपर्दा समाज विकासले समाजका आन्तरिक वा बाह्य स्वरूपसहितको समग्र सकारात्मक परिवर्तनलाई बुझाउने गर्दछ र सामाजिक संरचना, सामाजिक सम्बन्ध, सामाजिक संघ सङ्गठन आदिमा रूपान्तरण वा परिवर्तन हुने प्रक्रिया नै समाज विकास हो र हरेक ठाउँ गाउँ समाज सरलबाट जटिलतिर, समानताबाट असमानतातिर, एकताबाट विविधतातिर, असभ्यताबाट सभ्यतातिर र प्राचीनबाट आधुनिकतिर विस्तारै अगाडि बढ्छ ।

यसको गति त्यस ठाउँमा त्यस गाउँमा त्यस समाजमा रहेका सचेत नागरिकले खेल्ने भुमिकामा निर्भरता रहेको हुन्छ त्यसैले हामी पनि हाम्रो समाजभित्रको एक सचेत नागरिकको हैसियतले समाजमा जीवनको अन्तिम अवस्थासम्म पनि निरन्तर सकारात्मक प्रभावकारी भुमिका खेल्न सक्नुपर्दछ यो आजकै मितिबाट सबैले थालनी गरौं ।

यो समाज विकास एक सर्वव्यापी प्रक्रिया पनि भन्न सकिन्छ । यो सामूहिक परिवर्तन पनि हो। समाजको गति समान नहुने भएको ले यसको ठ्याक्कै भविष्यवाणी गर्न सकिने अवस्था भने रहदैन । समाज भन्नेबित्तिकै हाम्रो मनमा समुदाय जोडिन्छ र ? 

सामाजिक संघसंस्थाले समाज परिवर्तनमा कसरी भुमिका खेल्छ भन्ने सन्दर्भमा भन्नूपर्दा पहिलो कुरा सामाजिक संघसंस्थाको स्थापना सँगै सबैको सबैसँग पारस्परिक सुमधुर सम्बन्धहरु विस्तार हुन जान्छन् ।समुदायभित्र एकता, सद्भाव कायम राख्न मद्दत पुग्छ र यसले एकता नै बल हो भन्ने भनाइ सार्थक बनाउछ कुनै एक जना लाई केही जटिल समस्या आउँदा वरिपरि रहेको समुदायले एकपछि अर्को गर्दै यो हामी सबैको समस्या हो सबै मिलेर सामना गरौं ।

यस्ता जटिलता आज एउटालाई छ भोलि अर्कोलाई पनि हुन सक्छ पर्सि कुनै दिन मलाई पनि हुन सक्छ त्यसैले हामी सबै मिलेर यस्ता जटिलताहरु मिलेरै सामना गर्दा एउटालाई पर्ने भार अलि अलि गरेर सबैलाई बाड्दा त्यो जटिलताबाट सजिलोसँग उन्मुक्ति पाइन्छ पाउन सकिन्छ । 

त्यसैले यसरी मिलेर बसेको कुनै समुदाय समाजमा राज्यले हेर्ने नजर पनि सधैं सदा सकारात्मक हुन्छ र यदि राज्यको कुनै निकायबाट गलत नजर लगाउने कुनै दुस्साहस हुन्छ प्रयास हुन्छ भने पनि खबरदारी गर्ने सन्दर्भमा पनि एकता हुन्छ ।

त्यो एकताले अनौठो सबैलाई चकित पार्ने बल (शक्ति) उत्पादन गर्छ र त्यो उत्पादित भएको बलको सही प्रयोगले हरेक कुरामा सफलता हात पार्छ र पारेको संसारमा थुप्रै उदाहरणहरु भेट्न देख्न पढ्न पाइन्छन् ।त्यसैले सामाजिक संघसंस्थाको स्थापना समाज परिवर्तनको एक आधार बन्ने कुरामा कुनै दुई मत छैन ।