Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लोमश वाङ्मय प्रतिष्ठानको समुद्घाटन

२१ सोमबार , आश्विन २०८१११ दिन अगाडि

लोमश वाङ्मय प्रतिष्ठानको समुद्घाटन

 - जयराम बिडारी        

काठमाण्डौ, लोमश वाङ्मय प्रतिष्ठानको समुद्घाटन तथा शुभकामना आदानप्रदान एवं रचना वाचन कार्यक्रम शनिवार राजधानीको एअरपोर्टस्थित एपेक्स बिजनेस होटलमा सुसम्पन्न भएको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष माधव घिमिरे 'अटल'को अध्यक्षतामा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य,नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीको विशिष्ट आतिथ्य, एवं हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा,तथा वरिष्ठ लघुकथाकार खेमराज पोखरेलको विशेष आतिथ्यमा उक्त कार्यक्रम सम्पन गरिएको थियो ।

उक्त समारोहमा देशका विभिन्न भागमा बाढी पहिरोले जनजीवन तहसनहस पारेका अवस्थामा पनि भारी मनका साथ भएपनि शारदीय पर्वहरूको पूर्व सन्ध्यामा औपचारिकता निर्वाह गर्न नै किन नहोस् शुभकामना आदानप्रदान गरिएको थियो । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रम समुद्घाटन गर्दै लोमश वाङ्मय प्रतिष्ठान जस्ता थुप्रै प्रतिष्ठानहरूले स्थानीय निकायसँग समन्वय गरी भाषा,कला, साहित्यको उन्नयनका लागि जगैदेखी समावेशीताको प्रयोग गरिनुपर्ने कुरामा जोड दिए । उनले प्रज्ञा-प्रतिष्ठानका एघार विभागमाहरुमा स्रोत साधन (बजेट) अत्यंत न्यून रहने भएकोले त्यसले कला, साहित्य, संस्कृति र भाषाका क्षेत्रमा पर्याप्त काम गर्न नसकिएको बताउँदै समाजका लागि केही गरौं भन्ने अशल भावना रहेका ‘अटलको’ नेतृत्वमा अधि बढेको ‘लोमश वाङ्मय प्रतिष्ठान’ले सार्थक उपलब्धि हाँसिल गर्ने कुरामा आसावादी रहेको बताए । त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठान लोमश वाङ्मय जस्ता संस्था संग सम्भव हुने विषय र कार्यक्रममा सहकार्य गरी अघि बढ्न सकिने उल्लेख गरे । यसैगरि विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव डा. धनप्रसाद सुवेदीले भाषा, कला,साहित्य वा संस्कृतिका क्षेत्रमा भएका बेथितिलाई न्यूनीकरण गर्न प्रज्ञा-प्रतिष्ठान सदैव तयार रहेपनि बिग्रे,भत्केका सबै कुरामा प्रज्ञा-प्रतिष्ठानमाथि नै औँलो ठड्याउने आमप्रचलनप्रति भने असन्तुष्टि व्यक्त गरे । एउटा विभागमा आउने पाँच लाख बजेटले कुनै पनि वृहत् कार्यक्रम सम्पन्न गर्न नसकिने बताउँदै यस्ता काममा लोमश जस्ता संस्थाले पर्याप्त बजेट रहेका स्थानीय तहसँग समन्वय गर्दै भाषा, कला र संस्कृतिको उत्थानमा प्रज्ञा-प्रतिष्ठानलाई सघाउन आग्रह गरे । 

उक्त अवसरमा विशेष अतिथिको भूमिकामा रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले आफूले गाउँपालिकाको सिमित आर्थिक हैसियतका आधारमा साहित्यको उन्नयनमा सघाउ पुर्याएको हुनाले गापा अध्यक्षको काव्यिक गतिविधिमा बाक्लै उपस्थिति रहने गरेको कुरा जनस्तरमा उठ्ने गरेको समेत खुलासा गरे । काठमाण्डौवासीले पिउँदै गरेको पानीको मुहान नै आफ्नो गापामा पर्ने बताउँदै पानीको मुहानको वस्तुस्थितिका बारेमा जानकारी लिन तथा आन्तरिक पर्यटनलाई बढावा दिनका लागि समेत सुन्दर प्रकृतिको वरदान रहेको हेलम्बुमा काठमाण्डौवासीलाई स्वागत गर्नका लागि आफूहरू आतुर रहेको बताए । उनले हेलम्बुमा निर्माण गरिंदै गरेको ग्रेट ट्रेल,अनेकौं घ्याङ तथा आमायाङ्ग्री जस्ता अद्भुत धरोहर हेर्न हेलम्बु विकासको मोडेलसँग साक्षात्कार हुनका लागि समेत हेलम्बु आउनै पर्ने कुरामा जोड दिए । यसैगरी अर्का विशेष अतिथि चर्चित लघुकथाकार खेमराज पोखरेलले लोमश वाङ्मय प्रतिष्ठानको सुरूआत नै भव्य रहेको बताउँदै यसले भाषा,साहित्यको उत्थानमा यथेष्ट योगदान दिन सक्ने विचार व्यक्त गरे । उनले गुणस्तरीय लेखनलाई महत्त्व दिँदै गर्दा कोही पनि नवोदित नभई परिष्कृत नहुने बताँदै नवोदित स्रष्टालाई निरुत्साहित गर्न नहुने कुरामा जोड दिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे 'अटल'ले प्रतिष्ठानको संक्षिप्तमा परिचय दिँदै संस्थाको भावी योजनाबारे प्रकाश पारे । उनले प्रतिष्ठानले आगामी दिनमा सम्बन्धित सबैसँग हातेमालो गरेर अघि बढ्न प्रतिबद्ध भएको बताए । 

यसैगरी लघुकथाकार तथा प्रतिष्ठानकी सदस्य सत्या अधिकारीले उपस्थित अभ्यागतहरूलाई स्वागत गरेको सो कार्यक्रममा अर्थ-संयोजक गोपालकृष्ण अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । उक्त अवसरमा नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेल,नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष विष्णु सापकोटा, चर्चित नियात्राकार,पर्यटन व्यवसायी तथा त्रिशूली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्रमान डङ्गोल, सेवा निबृत्त शिक्षक समाज नेपाल लमजुङका जिल्ला अध्यक्ष खुशीराम डौलिया, कर्मदा सिर्जना मञ्चका अध्यक्ष जगदीश्वर पोखरेल, मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपाने, हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारी, मुक्तकालयकी अध्यक्ष नीलञ्जला भारद्वाज, भूमेश्वरी मा.वि.का प्रधानाध्यापक यमबहादुर जोती, रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेलगायत एक दर्जन सङ्घ-संस्थाका प्रमुखहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समारोहमा चर्चित युवा लोकदोहोरी गायक रुपेश गुरूङ तथा शिवराज गौतमले साङ्गीतिक प्रस्तुति दिएको कार्यक्रममा पार्वती भट्टले देउडा गीत प्रस्तुत गर्दै रौनकता बढाएका थिए । सो अवसरमा कवि रूबि सत्याल, पार्वती अधिकारी, अञ्जु तिमल्सिना घिमिरे, शोभा शरभ, अल्का मल्ल, सुजिता अविरल, कमला घिमिरे अधिकारी, भरत पौडेल, गोपालकृष्ण अधिकारी,लगायत एक दर्जन बढी स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । सूचक प्रकाशनका अध्यक्ष तथा सम्यक् सन्देशका सम्पादक दीपक भेटुवाल, स्रष्टा पदयात्राका महासचिव गङ्गाप्रसाद भेटवाल, बालसाहित्यकार तथा आख्यानकार केशरी अम्गाई, वागमती टीभीका कार्यकारी अधिकृत मनोज न्यौपाने, सगोत्री आचार्यलगायत लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण तथा समापन सचिव नवीन 'पल्लव'ले गरेका थिए ।