Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काभ्रेका तीन स्थानीय तहलाई महानगरकाे २०/२० लाख

१८ शुक्रबार , आश्विन २०८११४ दिन अगाडि

काभ्रेका तीन स्थानीय तहलाई महानगरकाे २०/२० लाख

काठमाडौं महानगरपालिकाले बाढीपहिरो प्रभावित काभ्रेपलाञ्चोकका तीन स्थानीय तहलाई राहत तथा पुनःस्थापनाका निम्ति २०/२० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकालाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको बताइएको छ । यहि असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठुलो जनधनको क्षति भएकाे थियाे ।

बाढीपहिरोले ठुलो जनधनको क्षति भएपछि  स्थानीय तहले सहयोगका लागि आह्वान गरेपछि स्थानीय तहमध्ये बाढीपहिरोले धेरै क्षति पुर्याएका तीन वटा गाउँपालिकालाई महानगरको विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराउन लागिएको हो ।

महानगरले आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन मातहतका वडा कार्यालयहरुलाई पत्राचार पनि गरेको जानकारी गराएको छ । साथै, अनाधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढावा नदिने समेत महानगरले स्पष्ट पारेको छ ।

बाढीपहिरोको विपत्तिमा परेर पनौती नगर क्षेत्रमा २० जनाको मृत्यु भएको थियाे भने ५ सय घर पूर्ण र ७ सय १३ वटा घर आंशिक रुपमा क्षतिग्रस्त भएका थिए । दुई हजारभन्दा बढी पशुधनको पनि क्षति भएको थियाे ।

त्यस्तै, रोशी गाउँपालिका क्षेत्रभित्र बाढीपहिरोमा परेर १२ जनाले ज्यान गुएकाे छ भने झण्डै ५ सय घरमा पूर्ण र १ हजार ५ सय घरमा आंशिक क्षति पुगेको थियाे । बाढीपहिरोमा परेर खसी, बोका, गाई, भैंसी ५ सय र कुखुराका २ हजार चल्लामा समेत क्षति भएको थियाे ।

बाढीपहिरोमा परी बेथानचोक गाउँपालिकाभित्र १ दर्जन व्यक्तिले ज्यान गुमाएका थिए भने झण्डै १ हजार घरहरुमा क्षति पुगेको छ । पालिकाको प्रशासनिक भवनसँगै ९ हजार ५ सय पशुधनको क्षति भएको छ ।