Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विदेशमा छोराछोरी भएका ज्येष्ठ नागरिकमा एक्लोपन बढ्दै

१६ बुधबार , आश्विन २०८११६ दिन अगाडि

विदेशमा छोराछोरी भएका ज्येष्ठ नागरिकमा एक्लोपन बढ्दै

विदेशमा छोराछोरी भएका ज्येष्ठ नागरिकहरु भावनात्मक र सामाजिक एक्लोपनको सिकार हुने गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाले गरेको अध्ययन सर्वेक्षणमा यस्तो देखिएको हो ।

महानगर क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकमध्ये विदेशमा छोराछोरी भएका २१ दशमलब ७ प्रतिशतमा अति गम्भीर भावनात्मक एक्लोपन देखिएको जनाइएको छ । यस्तै, ६२ दशमलब ३ प्रतिशतमा मध्यम खालको र १५ प्रतिशत ज्येष्ठ नागरिकमा कुनै पनि खालको भावनात्मक एक्लोपन नदेखिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार सामाजिक एक्लोपनको कोणबाट ४८ प्रतिशतमा उच्च, २८ दशमलब ३ प्रतिशतमा मध्यम र २३ दशमलब ७ प्रतिशतमा शून्य देखियो । महानगर अनुसन्धान शोधवृत्तिको तेस्रो संस्करणमा ‘ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्यका लागि महानगरको जिम्मेवारी’ विषयमा प्रल्हाद अधिकारीले अध्ययन गरेका थिए ।

अध्ययनको सुपरीवेक्षक विनिता अधिकारी हुन् । छोराछोरी विदेशिएका ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्यको स्तर थाहा पाउन र अवस्था सुधार्नका निम्ति सुझाव दिन अध्ययन गरिएको महानगरको भनाइ छ । सर्वेक्षणमा महानगरभित्र बसोबास गर्ने ५८ वर्ष पुरा भएका सबै वडा समेटिने गरी पाँच सय नौं जनालाई सहभागी गराएपनि ६१ जनाले सोधिएका सबै प्रश्नको जवाफ दिन नचाहेको बताइएको छ ।

यसैले उनीहरुलाई तथ्यांक विश्लेषणमा नराखिएको महानगरले जनाएको छ । महानगरका अनुसार दुई सय चार महिला र दुई सय ४४ पुरुष गरी जम्मा चार सय ४८ ज्येष्ठ नागरिकको जवाफलाई तथ्यांक मानेर १८ जना विषयविज्ञबाट विश्लेषण गरिएको हो ।

आधाभन्दा बढी अर्थात् ५९ दशमलब ८ प्रतिशत ज्येष्ठ नागरिक पेन्सन वा वृद्ध भत्ता लिइरहेको पाइएको छ । अधिकांशका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा, दुबई र जापानमा रहेको सर्वेक्षणबाट देखिएको महानगरले जनाएको छ ।

अध्ययनको क्रममा विदेशमा सन्तति रहेका ५२ दशमलब ७ प्रतिशत ज्येष्ठ नागरिकले आफ्ना छोराछोरी स्वदेश फर्केर आउने विश्वास नरहेको बताएको महानगरको भनाइ छ । ९४ प्रतिशत ज्येष्ठ नागरिकले आफुलाई सहयोग गर्ने सहयोगी नराखेको, ३९ दशमलब ३ प्रतिशतलाई छिमेकी साप्ताहिक रुपमा भेट्न आउन गरेको पाइएको छ ।

अध्ययनले महानगरपालिकालाई ज्येष्ठ नागरिकको पुनःपरिभाषा गरी पहिचान प्रदान गर्न सुझाव दिएको छ । उनीहरुलाई अधिक प्राथमिकता दिन, छुट तथा सुविधासँगै सम्मान गर्न र कानूनमा प्रतिबद्धता गरिएका व्यवस्था कार्यान्वयनका निम्ति सुझाएको छ ।