Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बचत अपचलनमा जीबीसहित १७ जनाविरुद्ध मुद्दा दायर

१० बिहिबार , आश्विन २०८१एक बर्ष अगाडि

बचत अपचलनमा जीबीसहित १७ जनाविरुद्ध मुद्दा दायर

चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सहित १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । चार सय ४६ जना बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन गरिएको निष्कर्ष निकाल्दै हिजो जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

जीबीसहित सागर केसी, विरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भुपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दिपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तिर्थराज लामिछाने, कुमार रम्तेल, शरण विश्वकर्मा र थमन भन्ने थानबहादुर बुढामगरविरुद्ध सहकारी ठगी अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिवादीहरुबाट बिगो असुल उपर गरी मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (३) बमोजिम सजाय हु्न पनि मागदाबी गरिएको छ । साथै, सहकारीबाट गोरर्खा मिडियामा गएको रकमका सम्बन्धमा अनुसन्धान गर्न बाँकी रहेकाले पुरक अभियोग पेश गरिने जनाइएको छ ।

अभियोगपत्रमा उल्लेख छ, ‘साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट रकम गएको भनिएको गोरर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४८ करोड बराबरको कारोबार के कसरी को कोसँग भएको हो ? सोको विवरण माग गरिएकोमा प्राप्त नहुदैँ अनुसन्धान प्रतिवेदन प्राप्त भएकोले सो कम्पनीहरुको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समितिलगायतका बारेमा थप अनुसन्धान गर्नुपर्ने देखियो । पुनः  अनुसन्धान गरी पुरक अनुसन्धान प्रतिवेदन प्राप्त भएपश्चात् मुलुककी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम पुरक अभियोग पेश गरिने व्यहोरा सादर अनुरोध गरिन्छ ।’