Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नक्कली ऋणीलाई ऋण लगानी नगर्न सहकारीलाई चेतावनी

१० बिहिबार , आश्विन २०८१२३ दिन अगाडि

नक्कली ऋणीलाई ऋण लगानी नगर्न सहकारीलाई चेतावनी

काठमाडौं महानगरपालिकाले सहकारी संस्थाका लागि १५ बुँदे निर्देशन जारी गरेको छ । सहकारी संस्थाको बचत र ऋण लगानी सुरक्षित गर्न उक्त निर्देशन अनिवार्य रुपमा पालना गर्न महानगरले सहकारी संस्थाका पदाधिकारीहरुको ध्यानाकर्षण गराएको हो ।

जसअनुसार सहकारी संस्थालाई पुँजी कोषको दश प्रतिशतभन्दा बढी रकम एकै सदस्यमा लगानी नगर्न अथवा सञ्चालक समितिका ४९ प्रतिशत सदस्यलाई एकै पटक ऋण लगानी नगर्न निर्देश गरिएको छ । त्यस्तै, विदेश अध्ययन वा यस्तै प्रयोजनमा बचत रकमको प्रयोग नगर्न पनि भनिएको छ । ।

सहकारी संस्थालाई नक्कली ऋणी खडा गरी लगानी नगर्न चेतावनी दिदैँ महानगरले धितो वा जमानी नराखी अथवा न्यून धितो राखी ऋण लगानी नगर्न पनि सचेत गराएको छ । संस्थाको उद्देश्य तथा कार्यक्षेत्रविपरीत लगानी र त्यस्तो अधिकार प्रबन्धक वा अन्य पदाधिकारी वा सदस्यलाई प्रत्यायोजना गर्नुनहुने महानगरद्धारा सूचनामा उल्लेख छ ।

महानगरले सहकारीको बचत सेयर किनबेचका लागि प्रयोग नगर्न, अनावश्यक कार्यमा रकम खर्च नगर्न, गैरकानूनी आयात निर्यातमा बचत रकम प्रयोग नगर्न वा सदस्यबाहेकका व्यक्तिलाई ऋण लगानी नगर्न समेत सहकारीका पदाधिकारीहरुको ध्यानाकर्षण गराएको छ । यता, संस्थाको बचत रकम प्रयोग गरी घरजग्गा कारोबारमा लगानी नगर्न र प्राथमिक पुँजी कोषको पन्ध्र गुणाभन्दा बढी हुने गरी बचत संकलन नगर्न पनि महानगरको निर्देशन छ ।

महानगरले एकाघरका सदस्य र एकभन्दा बढी सहकारीको सञ्चालक समितिमा नराख्न र एकै व्यक्ति वा परिवारभित्रका व्यक्ति सञ्चालक समिति र प्रबन्धकको दोहोरो जिम्मेवारीमा नबस्न समेत चेतावनी दिएको छ ।

सहकारीका सदस्य र नयाँ थपिने सदस्यहरुलाई पनि आफु संलग्न रहेको सहकारीको नियमित रुपमा अवस्था बुझ्न सुझाउँदै महानगरले उल्लिखित कार्यहरु पालना नगरेको पाइएमा जानकारी गराउन पनि अपिल गरेको छ ।