Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दशैँका लागि अग्रिम टिकट बुकिङ असाेज १२ देखि खुला हुने

०९ बुधबार , आश्विन २०८१२४ दिन अगाडि

दशैँका लागि अग्रिम टिकट बुकिङ  असाेज १२ देखि खुला हुने

दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १२ गतेदेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले  १२ गतेदेखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

विभागका अनुसार यातायात व्यवसायीहरुले अनलाइन टिकट बुकिङ व्यवस्था मिलाउने सहमति भएको छ । बैठकले यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म देशभर लागू हुने गरी रुट परमिट खुला गर्ने पनि निर्णय गरेको छ ।

तर, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीलाई भने बन्देज कायमै रहने विभागले जनाएको छ । विभागले अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठुला सवारीसाधन घटस्थापनादेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको पनि बताएको छ ।

तर, आयातित मालवाहक सवारीको हकमा भन्सार प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियमअनुसारको राजस्व तिरेको रसिद हेरी तेस्रो मुलुकका आयात तथा निर्यातजन्य ढुवानीका साधनहरु भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणघाटदेखि काठमाडौंसम्म सडकखण्डमा आवतजावतमा रोक लगाइने छैन ।

उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारीसाधनको सम्बद्ध निकाय तथा संस्थासँगको सहकार्यमा अनुगमन गरिने विभागको भनाइ छ । विभागका अनुसार यात्रु समेतले सवारीमा मादक पदार्थ सेवन गरी यात्रा गर्न पाउने छैनन् ।

देशभर मापसे र लापसे गर्ने सवारी चालकको स्वास्थ्य अवस्था चेकजाँच गर्ने र मापसे वा लापसे गरेको पाइएमा निजको सट्टामा व्यवसायीले अर्को चालकको व्यवस्था गर्नुपर्नेछ । त्यस्तै, सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने र टिकट काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने छ ।

सवारी चालकले यात्रुलाई खाना, खाजा खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्नुपर्ने र अनाधिकृत काउन्टर, परिचयपत्र, पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया नियन्त्रण गरिने विभागले बताएको छ ।

लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने सवारीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने, १८ वर्ष उमेर पुरा नभएका नाबालकलाई परिचालकको काममा लगाउन नहुने, लामो तथा मध्यम दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनले आफ्नो तोकिएको पालो (क्यु) मा सञ्चालन गर्नुपर्ने छ ।

क्युमा सञ्चालन नगरी रिजर्भमा जान नपाइने विभागको भनाइ छ । विभागले चाडपर्व अवधिभर अनुगमन कार्यका लागि सरोकारवाला निकाय सम्मिलित अनुगमन टोली गठन गर्ने पनि निर्णय भएको जनाएको छ ।