Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दुई महिनामा पाथीभरा मन्दिरबाट १८ लाख भन्दा बढी भेटी सङ्कलन

०७ सोमबार , आश्विन २०८१एक महिना अगाडि

दुई महिनामा पाथीभरा मन्दिरबाट १८ लाख भन्दा बढी भेटी सङ्कलन

पछिल्ला दुई महिनामा ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरबाट १८ लाख भन्दा बढी भेटी सङ्कलन भएको छ । गत साउन र भदौ दुई महिनामा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम १८ लाख २६ हजार ५ सय ५५ सङ्कलन भएको हो ।

गत साउनमा ६ लाख ९१ हजार र भदौमा ११ लाख ३५ हजार ५ सय ५५ रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिएका छन् ।

साउनमा पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या १ हजार ९ सय ५५ थियो भने भदौमा यो सङ्ख्या बढेर ९ हजार ९ सय ३९ पुगेको समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै दशैँ र तिहार पर्व नजिकिएको र पाथीभरा दर्शन गर्ने मुख्य मौसम सुरु भएको कारण आगामी दिनमा भक्तजनको सङ्ख्या अझै बढ्ने समितिको भनाई रहेको छ ।

दशैँ र तिहारको समयमा पाथीभरा मन्दिरमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रमको आयोजना हुने भएकाले यो समयमा तीर्थयात्रीको उल्लेख्य वृद्धि हुने गर्दछ । पाथीभरा मन्दिर नेपालकै महत्त्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये एक मानिन्छ ।

समुद्री सतहदेखि करिब ३ हजार ७ सय ९४ मिटरको उचाइमा अवस्थित यो मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिने भएकाले नेपालका विभिन्न स्थानबाट मात्र होइन, भारतबाट समेत पाथीभरा दर्शन गर्न हजारौँ श्रद्धालु आउने गरेको पाईन्छ ।

पाथीभरा देवीलाई शक्तिस्वरूप देवीका रूपमा पुजिन्छ भने यस मन्दिरमा विशेषगरी महिलाहरू सन्तान प्राप्तिका लागि, रोगव्याधी निको पार्न तथा इच्छित मन्नत पूरा गर्नका लागि पूजा गर्ने परम्परा रहेको छ ।

यस वर्षको दशैँ र तिहारको समयमा धेरै भक्तजन आउने अपेक्षा गरिएको समितिले बताएको छ भने यसका लागि आवश्यक तयारीसमेत भइरहेको बताईएको छ ।