आमनागरिक रोइरहेका छन्, तिनको पीडा नसुन्ने सरकारले सारङ्गी रोएको सुन्ला र? सारङ्गी रेट्ने गन्धर्व पनि आमनागरिक हुन्, गन्धर्वहरु पोखरादेखि कैलालीसम्म फैलिएका छन्। यी गन्धर्वजातिको जीवन साङ्गीमा गाउनु र गाउँदै रुनुमा सिमित छ। यिनलाई पञ्चायतले हेरेन, बहुदल आएन, लोकतन्त्र के हो, यिनले अनुभूति गर्नै पाएका छैनन्। यिनका लागि सरकार कस्तो हो, सरकारले जनताका लागि गर्ने के हो? केही पनि थाहा छैन। सारङ्गी रेट्नु, बिष्टले जे दिन्छन्, त्यो लिनु र झुपडीमा रहेका जहानबच्चाको पालनपोषण गर्नु यिनको पुर्ख्यौली पेशा अथवा जीवनशैली हो।
गन्धर्व भन्छन्– बाबुबाजेसँग सारङ्गी थियो, हामीले पनि त्यही सारङ्गी पाएका छौं। सारङ्गी बजाएर मागेर खानुपर्छ। घरघर जान्छौं, हाटबजार पुग्छौं, सारङ् रेट्छौं, सारङ्गीको तालमा गाउँछौं, नाच्छौं, हाँस्छौं, रुन्छौै, यही हो गन्धर्वको जीवनलीला। हामीले रोएको कसले देख्दो रहेछ र? यिनको सबैभन्दा ठूलो चित्तदुखाई यही हो। कसले सुन्ने यिनको मनको बह?
कसैलाई बैंशका गीत मन पर्छन्, कसैलाई मुग्लान् भासिएका लाहुरेको व्यथा। कसैलाई लडाई र कसैलाई बिछोडको पीडा मन पर्छ। फर्माइसअनुसार सारङ्गीको धूनमा गीत गाउनु र सुन्नेलाई मन्त्रमुग्ध पार्नु गन्धर्वको सारङ्गी कला हो।
झलकमान गन्धर्व, कुमार गन्धर्वजस्ता 'गाइने' गन्धर्वले रेडियो घन्काए, टिभी रन्काए, अनेक फिल्ममा गाए, बजाए। सारङ्गीको धून सबैले मन पराए। तर सारङ्गी रोएको, सारङ्गीको जस्तो बजाउनेको खाक्रो पेट कसैले देखेन। देशले चिनेन, राज्य र राजनीतिक नेताले वास्ता गरेनन्। लोककल्याणकारी सरकारले सारङ्गी रोएको सुन्नु पर्दैन?
सारङ्गीको स्वर जनताले चिनेका छन्। जनताले सुन्छन्, युवालाई प्रेमलहरी मनपर्छ, खुशी हुन्छन्, बुढाबुढीलाई बिछोडको पीडा मनपर्छ, धेरै रुन्छन् पनि। गच्छेअनुसार पैसा दिन्छन्, त्यही पैसाले हातमुख जोड्ने र गर्जो टार्ने काम हुँदै आएको बताउँछन् गन्धर्वहरु। आफूले जे जानेको छ, सन्तानलाई त्यही सिकाउने हो भन्छन् केही गन्धर्व र केही चाहिं छोराछोरीलाई पढाउन थालेका बताउँछन्। बिरामी पर्दा, काम गर्न नसक्दा पानी खाएर जीवनमा कति दिन सुतियो, गन्ति गरेको छैन भन्ने गन्धर्वहरु पनि दाङतिर फेला परे। पोखराका गन्धर्वहरु व्यवसायिक बनेका छन्। उनीहरु पर्यटकहरुलाई सारङ्गी रेटेर धून सुनाउँछन् र मनग्गे कमाउने पनि छन्। यिनको कमाई भनेको दिनेको मनखुशी दान दातव्य नै हो।
गन्धर्वजाति अहिले पनि झुग्गीझोपडीमा बस्छन्। यिनको थाँतथलो स्थायी छैन, झोपडी यिनको घर हो। स्थायी घर, स्थायी आम्दानीको स्रोत, बालबालिकालाई शिक्षादिक्षा दिन नसकेकोमा कैलालीका गन्धर्वहरु धुरु धुरु रुन्छन्। झोपडीमा बस्ने गन्धर्वहरु कुन दिन सरकारले हटाउने हो भनेर मनमनै आतंकिन हुनेगरेका छन्।