Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नीति छाड्यो कांग्रेसले

२४ सोमबार , फाल्गुण २०७२९ बर्ष अगाडि

नेपाली कांग्रेस भनेको २००३ साले भारत भवानीपुरको भीडमै सिमित रहेछ भन्ने कुरा १३औं महाधिवेशनले प्रमाणित गरिदियो। संविधान जारी गरेको जस लिने कांग्रेसको महाधिवेशनमा भावीनीति कसरी तय गर्ला, लोकतन्त्र कसरी हाँक्ने राजमार्ग निर्माण गर्ला भनेर अधिवेशनलाई नियालीरहेका पर्यवेक्षकहरु निराश बनेका छन्। कांग्रेसको १३औं अधिवेशन भनेको नेतृत्व चयन हो भन्ने सावित हुनुगेको छ। पहिले नीति अनि नेतृत्व चयन हुनुपर्ने थियो, कांग्रेसीहरुले नीतिलाई बेवास्ता गरेको देखेर कांग्रेसप्रति आशावादी हुनेहरु यस्तो पनि अधिवेशन हुन्छ? भनेर नाक खुम्च्याउन थालेका छन्। कांग्रेसले यसरी नीतिलाई महत्वहीन ठान्नुहुन्थेन।

१३औं अधिवेशन यसकारण महत्वपूर्ण थियो कि कोइरालाको हातबाट नेतृत्व इतर नेताको हातमा आउँदै थियो। यसकारण नीति पारित गरेर नेतृत्व चयनमा कांग्रेस लाग्न सकेको भए, अधिवेशनको महत्व अर्कै हुनेथियो। तर कांग्रेसको १३औं महाधिवेशनमा नीतिगत बहस नै भएन। नेतृत्व चयनको रौनक, गूटउपगुटको खिचातानी, किनबेच, भोजभत्तेर, नाचगानमा सिमित हुनपुग्यो। यस्तो मनमौजी नेपाली कांग्रेसले भावी नेपाललाई कसरी हाँक्ला? संविधान कार्यान्वयनको दायितव लिन्छौं भन्ने कांग्रेसले त्यो दायित्व कुन साहस र हैसियतमा पूरा गर्ला? पहिले साठी, चालिसको मानसिक बिभाजन थियो, अहिले रामचन्द्र, देउवा र सिटौलाको तीन गुटको विभाजन भएको छ। बिभाजित कांग्रेस भनेको फेरि पनि कम्युनिष्टको हालीमुहालीलाई खुला निम्तो हो भन्छन् विश्लेषकहरु।

विश्लेषक खगेन्द्र संग्रौलाको शव्दमा नेपाली कांग्रेसको महाधिवेशन भनेको कर्मकाण्डमात्र हो। यो कर्मकाण्डमा तीन प्रमुख प्रवृत्तिको जगजगी देखियो। वंशको धाकधक्कु, बृद्धहरको ताहुरमाहुर र बजारको ताण्डव। सत्य टिप्पणी हो यो।

युवा कांग्रेस अहिले पनि चाउरियो। साहस गरेर नेतृत्वमा पुग्न युवा कांग्रेसले हिम्मत नै गरेन। उही गुट, उपगुटको प्यादा बनेर बसिरह्यो युवा कांग्रेस। यसपटकको महाधिवेशन प्रतिनिधिहरु सबैभन्दा बढी युवा थिए। तिनले चाहेको भए यो अधिवेशनको पासा पल्टाइदिनसक्थे, युवाको हातमा नेतृत्व दिलाउन ताकत पनि थियो। तर, परम्परागत रुपमा बुढा नेताको हैकममा थिचिएका प्रजातन्त्रवादी भनिने युवा कांग्रेस यसपटक पनि चुक्यो र युवाका लागि मार्ग प्रशस्त गर्न सकेन। यसको अर्थ कांग्रेस उही थाङ्ने प्रवृत्तिमा लम्पट बनेर सिमित रह्यो।

 यस्तो कांग्रेसले आउँदो युगलाई कसरी खुला र उदार लोकतन्त्र दिनसक्छ? यस्तो कांग्रेसले थिलथिलो बनेको देश र जनतालाई कसरी आशामा आवद्ध गर्नसक्छ? जनताको पीडालाई, देशको आवश्यकतालाई, समयको धारिलो धारले संवोधन गर्नसक्छ भनेर प्रमाणित गर्नुपर्ने बेलामा नेपाली कांग्रेस भनेको नीतिहीन, संवेदनहीन, योजनाविहीन पार्टी बन्नु भनेको प्रजातन्त्र अधिवेशनमै हार्‍यो भन्ठान्नु हो। एकप्रकारले ठूलो मौका थियो, युवा कांग्रेसका लागि, त्यो मौका प्रयोग गर्न चुक्यो कांग्रेस।