प्रचण्ड र बाबुराम: एकदोस्राप्रति यसरी आक्रामक बनेका छन् कि मानों यी दुबै जन्मजात दुश्मन हुन्। दुर्योधन र युधिष्ठिर होइनन् दुबै, तर दुबैले आआफ्ना ब्रम्हास्त्रसमेत उपयोग गरेर एकले अर्कोलाई बदनाम गरिरहेका छन्। एमाओवादीमा यस्तो दिन पनि आउँछ भनेर कसले कल्पना गरेको थियो? तर आयो, अचम्म देख्नुपर्यो।
बाबुराम भट्टराईले नयाँ गठन गर्ने हल्ला चलुन्जेल फकाउने र फर्केर आउनैपर्छ भन्ने नरम भाषण गर्ने प्रचण्डले नयाँशक्ति घोषणा भएपछिको फागुन १८ गते गोर्खा पुगेर भने– अव बाबुरामले चुनाव जितेर देखाउन्? एमाओवादीका कार्यकर्ता र पूर्वलडाकाहरु नयाँशक्तितिर आकर्षित भएपछि खप्नै नसकेका प्रचण्डले नौसिखा नेताले झैं बाबुरामलाई चुनाव जितेर देखाउन ललकारे। बाबुरामले पाएको मत एमाओवादीले पाएको दावी गर्ने प्रचण्डले बाबुरामप्रति व्यङगवाण यसरी कसे– पिएचडी गरेर सेक्शन अफिसरको जागीर नपाएर भौंतारिएका मान्छे नेपालमा हजारौं छन्। मोहनविक्रम सिंहले बाबुरामलाई केन्द्रीय कमिटीभन्दा माथि लानु हुन्न भन्ने सुझाव दिएका थिए, मैले पोलिटव्यूरोमा समेत लगें। प्रधानमन्त्रीसम्म बनाएँ, तर बाबुरामले पच्चिसौं वर्षसम्म काम गरेको पार्टी र विचार च्वाट्टै छाडेर गए। \बाबुराम भट्टराई के कम? बुद्धिकामात्र होइनन्, इटाको जवाफ पत्थरले दिन पनि माहिर छन् बाबुराम। बाबुरामले फेसबुकमा भनिहाले– कुकुर भुक्तैगर्छ, हात्ती लस्किदै अघि बढ्छ। रोकिदै ढुंगा हान्दै हिड्ने हो भने आफूलाई लक्ष्यमा पुग्न ढिलो हुन्छ।
देशका प्रधानमन्त्री भइसकेका, टाउकामा कात्रो बाँधेर १० वर्ष लामो जनयुद्ध लडेका दुवै नेता मानौं गल्लीका सान्चा पहलमान हुन्, निहुँ खोज्छस्, आइज त आइज भन्ने शैलीमा गालीगलौजको तल्लोस्तरमै उत्रिएको नजारा देशले देख्नुपर्यो। प्रचण्ड र बाबुरामको यो गालीगलौजको दोहोरी अर्चना पनेरुको न्यूड फोटो सेसन अथवा ज्योति मगरको ढाडे बिरालोजस्तो सस्तो मनोरञ्जनपूर्ण राजनीतिक नङ्गानाच भन्दा कुनै अर्थमा भिन्न देखिन्न। \कस्ता रहेछन् नयाँ नेपाल बनाउने राजनीतिक इन्जिनियरद्वय?
लामो समय बेड पार्टनर समेत रहेको यो जोडीवीचको पारपाचुके र ढाडे हात लगाएर गरेको गालीगलौज प्रतिस्पर्धाले नेपाली राजनीतिक परिदृश्यलाई रोचक र घोचकपूर्ण मनोरञ्जन त दिएको छ तर नेपाली राजनीतिमा यी दुई होनहार नेताको झगडा किन यसरी सतहमा आयो? कारणहरु अझै पनि रहस्यमय छन्। दुबै नेतावीच मनको फाटो बढेपछि प्रचण्ड कम्युनिष्ट केन्द्र बनाउन भनेर बाबुराम बाहेकका सबै माओवादीहरुलाई एकत्रित पार्ने अभियानमा छन् भने बाबुराम नयाँशक्ति पार्टीको संगठन बलियो पारेर २०७५ भित्रै सत्ता हात पार्ने राजनीतिक अभियानमा जुटेका छन्। हेर्नुछ, प्रचण्ड र बाबुरामको यो लिगलिगे दौडमा को पहिला हुन्छन्? कसले राजनीतिक बाजी मार्ने हुन्?