Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बदलिदैछ राउटेको जीवन

१७ सोमबार , फाल्गुण २०७२९ बर्ष अगाडि

 जंगलका राजा राउटेको जीवनचक्र अव फेरिन थालेको छ। राउटे सामाजिक भन्दा पनि जंगली जीवन बाँचिरहेको थियो अव बिस्तारै दुःख बिर्सीजा भन्ने गीत छाडेर सुख खोज्न थालेका छन्। राउटे मध्य र सुदूरपश्चिमका जंगलबाट निस्केर सिंहदरवारसम्म आउनसक्ने र उपहार दिएर राहत खोज्ने तहसम्म पुगेका छन्।

राउटेका लागि अनेक एनजीओ, राज्यस्तरका शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन्। यही कार्यक्रमले राउटेलाई चेतनशील बनाइरहेको छ। तैपनि संसद, सरकार पनि हुन्छ भनेर देखाउन राउटेको प्रतिनिधिलाई माथि उठाउने जमर्को कुनै राजनीतिक दलले गरेका छैनन्, तिनको प्रतिनिधित्व, साझेदारिता सत्ता, पद्धति र प्रशासनमा हुनुपर्छ भनेर कसैले खोजेको छैन। राउटेले छाप्रा बनाए, तरकारी खेती गरे, पशुपालन गर्न थाले भन्ने खबरले राउटे कसरी जंगलमा रत्तिएको रहेछ भन्ने अनुमान गर्न सकिन्छ। राउटेको चुलोमा तरकारी पाक्न थाल्नु भनेको ठूलै परिवर्तन आउन थाल्यो भन्ने हो।

वन्यजन्तुको सिकार गर्नु, रुख काटेर काठमा सामान बनाएर खाद्यान्नसँग साटेर जीवन निर्वाह गर्ने जाति वनबिमाख बढ्दै गएपछि समस्यामा पर्दै गएका थिए। बिस्तारै राज्यले यिनलाई समाजमा घुलमिल गर्न सिकाउँदा यिनीहरु पनि सामाजिक प्राणी हुनथालेका छन्। लोपोन्मुख राउटे जातिलाई जतिसक्दो सबैले समाजमा घुलमिल गर्न सिकाउने हो भने यो जातिको संरक्षण हुनसक्छ।

राउटे घुमन्ते जाति हो। तर अव थाँतथलो जमाएर बस्न सुरु गर्न थालेका छन्। दाङ, सुर्खेत देखि डडेल्धुरासम्मका राउटेहरु जंगलका राजा जीवन बिताउन छाडेर समाजका सामान्य नागरिक जीवन अँगाल्न थाल्नु ठूलै परिवर्तन हो। धुस्रोमुस्रो भएर जंगलमा लडिबुडी गर्ने राउटे परिवार अव नुहाउन, सफा लुगा लगाउन, पढ्न र स्वास्थ्योपचारमा पनि विश्वास गर्न थालेका छन्।

केही राउटेहरु बेला बेलामा राजधानी आउँछन्, हामीलाई खर्चपानी चाहियो भनेर लिएर जान्छन्। ठूला नेताहरु पनि मन फुकाएर राउटेलाई सहयोग गर्छन्, सँगै बसेर फोटो खिच्छन् र राउटेले ल्याएको उपहार ग्रहण गर्छन्। ठूला नेताहरुले र राज्यले आर्थिक सहयोग गरेर र फोटो खिचाएरमात्र पुग्दैन, राउटे जातिको संरक्षण गर्न निरन्तर जारी रहने योजना लागू गर्नु उपयुक्त हुनेछ।

हुन त नेपाल १२६ जातिको मुलुक हो। केही जाति सत्ता र शासनका अधिकारी बन्दै आएका छन् र सिमान्तकृत जातिहरु युगौंदेखि शोषणमा पर्दै आएका छन्। अव समय बदलिएको छ। केही जातिले शासन गरेर समानुपातिक नहुने सिद्धान्तमा सबैले सही गरिसकेका छन्। समानुपातिक सिद्धान्तका आधारहरुमा सिमान्तकृत सबै समुदायको हक, हित र प्रतिनिधित्व स्थापित गर्नु जरुरी छ। कुनै दिन चेपाङ, भुजेल, राउटेजस्ता जाति संसदमा पुग्यो, सभासद बन्यो भने तिनले उठाउने मुद्दा कस्ता होलान् भनेर अहिले नै विचार पुर्‍याउनु बुद्धिमानी हुनेछ। किनभने त्यतिबेला ती जातिले आफूमाथि भएको शोषणको कथा झिके भने विकसित जातिले शीर निहुराउनु पर्नेछ।