Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

मधेशी दलविरूद्ध भण्डाफोर गर्ने चेतावनी

१९ बुधबार , भाद्र २०८११३ दिन अगाडि

मधेशी दलविरूद्ध भण्डाफोर गर्ने चेतावनी

काठमाडौं । मधेश जनजागरण अभियानले मधेशको मुद्दाप्रति मधेशी दलहरू असंवेदनशील र गैरजिम्मेवार भएको आरोप लगाउँदै मधेशी दलहरूविरूद्ध भण्डाफोर गर्ने चेतावनी दिएको छ । अभियानले मधेशको मुद्दाप्रति गम्भीर हुन भनेको छ ।
मधेश मिडिया हाउसमा ‘मधेशको मुद्दाप्रतिम मधेशी दलहरूको उदासीनता किन ?’ विषयक पत्रकार सम्मेलन गरी मधेशी दलहरूलाई खबरदारी गरेको हो । अभियानले विज्ञप्तिमा भनेको छ, ‘नेपाल सरकार र मधेशी पार्टीहरूबीच विगतमा भएका सम्झौताहरूको कार्यान्वयनमा देखिएको ढिलाइप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सम्झौता कार्यान्वयनको प्रक्रियामा देखिएको यस प्रकारको असंवेदनशीलता र गैरजिम्मेवारीले देशको संघीय लोकतान्त्रिक प्रणालीप्रति मधेशी जनताको विश्वासमा गम्भीर असर परेको छ ।’ पत्रकार सम्मेलनमा अभियानका संयोजक रंजीत कुमार झाले अभियानको तर्फबाट यस विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै मधेशी दलहरूलाई सम्झौताका सबै बुँदाहरूलाई तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गरेका छन् । उनले सम्झौताका बुँदाहरूमा स्पष्टरूपमा उल्लेख भएका संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशीकरण र मधेशी जनताका अधिकारहरूको पूर्ण सुनिश्चितताका लागि मधेशी दलहरूले तुरून्तै आवश्यक कदम चाल्नुपर्ने आग्रह गरेका छन् ।
उनले मधेशीहरू मुद्दाबाट विचलित भएको आरोप लगाए । ‘मधेशी दलहरू ठूलाका पुच्छर भए, सीके राउतले स्वतन्त्र मधेशको कुरा गरेका थिए, कहाँ गयो स्वतन्त्र मधेश ?’ उनले आक्रोश पोख्दै भने, ‘जसपा माओवादीको पुच्छर, लोसपा कांग्रेसको पुच्छर र जनमत पार्टी एमालेको पुच्छर भएका छन् ।’ 
अभियानका बक्ताहरूले आक्रोशपूर्ण तरिकाले मधेशी दलले मधेशी जनताका लागि नभई आफ्नो परिवार र विदेशीका लागि काम गर्दै आएको आरोप लगाए । उनले मधेशी दलहरूले २२ जिल्लाको मधेशलाई आठ जिल्लामा सीमित गरेको आरोप लगाउँदै भने, ‘मधेशी दलहरूले मधेशी जनतासँग माफी माग्नुस्, तफाइँहरू आफ्नो व्यवहारमा सुधार ल्याउनुस्, नभए यसको परिणाम भयावह हुनेछ ।’ केही दलाल मधेशी नेताहरूका कारण मधेशको स्वाभिमान खसेको भन्दै अब मधेशी दलहरूकै विरूद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको जिकिर गरेका छन् ।