Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

तीजको यतिबिघ्न बेइजति नगरौं

देवी काफ्ले

१० सोमबार , भाद्र २०८१२ महिना अगाडि

तीजको यतिबिघ्न बेइजति नगरौं

आज र मैले घाँसै र काटे,
अरे लालुमै नौ मुठा घटाईन ।
दाजु र भाइ अटेको घरमा,
अरे लालुमै मै छोरी अटाईन ।
परम्परा हो, तीजमा चेलीले माइती प्रितका गुनासा यसरी पोख्थे ।
कलिलो उमेरमा बिवाह, कर्रो घर, कर्री सासु, लोग्नेको साथ नपाउनु, नन्दआमाजुका कोखा छेड्ने वचन वाण, ससुराको बुहार्तन सबै बेहोर्न पित्त जति चित्त भएको भए कसरी बेहोर्न सक्थे र ? बर्षदिनसम्मको बुहार्तन सहेर पोख्ने ठाऊँ थियो माइतीको चौतारी । वेदनाका भारी बिसाउन गाऊँभरीका दिदीबहिनी जम्मा भएर आमाका काखमा आ–आफूले भोगेका दुखसुख गितको माध्यमबाट पोख्ने गर्थे । सुखको बयान हुन्थ्यो, मायाका कुरा हुन्थे अनि आफूले सहेको बुहार्तनको चर्चा हुन्थ्यो । सबै गितको माध्यामबाट । बाबाआमाले नपढाएर घरको काममा लगाएका, भाइदाइलाई पढ्न स्कूल पठाएका ब्यवहारको खुलेरै गित मार्फत भन्थे । बिहे गरेर दिएको घर ठाऊँका अवगुणहरूको बयान गरिदिन्थे ।
कट्टी झर्ने कपालु छैन चिसो पानीले
कस्तो घर हेर्नु भयो आमा रानीले । ।
शरिरमा खुन छैन लेकखरी जुकाले 
कस्तो ठाऊंमा दिनभयो बाबा रूखाले 
फाँटमा हुर्के बढेकी छोरीलाई लेकमा बिहे गरि पठाउँदा यस्ता गुनासा पोख्थे । बाबाआमाले गरेको गल्ति तिज गितमै सुनाउँथे । समय परिवर्तनसँगै महिला अधिकारका कुरामा गित गाउन थाले । केही शिक्षित भैसकेपछी अधिकारका कुराहरू सृजना गर्न थाले । देशबिदेशमा घटेका घटनाहरूलाई गित मार्फत सुनाउन खप्पिस थिए । सचेतनाका कुरा आए । तर कहींकतै बिकृत कुराहरूलाई समेटेका थिएनन् । 
समय ब्यवस्था परिस्थितीमा ब्यापक परिवर्तन आयो । छोरीहरूको अवस्था हिजोको जस्तो रहेन । आमादिदीहरूको पालामा पढ्न नपाएकाले अर्थोपार्जनमा महिलाहरूको सहभागिता रहेन । घरको कामलाई कामको रूपमा गणना नै गरिंदैनथ्यो । आज छोरीहरू शिक्षित छन् । राजनैतिक, सामाजिक, प्रशासनिक तथा अन्य निर्णायक तहमा कार्यरत हुन पुगेका छन् । त्यसैले होला आज तिजको परिभाषा नै फेरिएको छ । छोरीहरू आत्मनिर्भर भएका छन् । बिभिन्न पेशा ब्यवसाय गर्छन् । समयको माग अनुसार अगाडी बढीरहेका छन् । त्यसैले आज दुख, पिडा, बुहार्तनका गितहरू आऊंँदैनन् । हिजो आफ्ना कथाब्यथालाई गितमा सर्लक्क ढालेर सृजना गर्थे दिदीबहिनीहरू तर आज सरजकहरू पुरूष दाजुभाईहरू हुनुहुन्छ बिशेष गरेर ।
ब्यस्तता, समयको माग,परिवर्तित अवस्था भन्दैमा आफ्नो मौलिक संस्कृतिको धज्जी उडाइएको छ अचेल ।हामी नेपाली धेरै सौखिन बनेका छौं । हुंदै नभएका आफ्नो रिवाज भन्दै बिदेशी संस्कृतीलाई बडो ईज्जतका साथ अवलम्वन गरेका छौं । साउनका हरिया पहिरनदेखि बिवाह,वर्तबन्धमा गरिने हल्दीमेहन्दी, जनैपूर्णिमाको राखी, (केही मात्रामा हाम्रो तराईबासीको चलन पनि छ मैले त्यो चलन बहिष्कार गर्न खोजेको होइन) जस्ता आयातित चलनलाई हाम्रो संस्कृती बनाउंदै गर्दा आफ्नै मौलिक चाडलाई किन अपहेलना ??
डिजीटल जमाना हो मजाले गित रेकर्ड गरेर दुनियान्सामु पुर्याउनु अति उत्तम कार्य हो । यसले गर्दा बिदेशमा समेत गित बजाएर रमाउन पाएका छन् ।यसलाई सकारात्मक लिनै पर्छ । समय परिवर्तनसंगै आजको तीज तीज रहेको छैन । हामी परिवारसँग बसेर गित सुन्न हेर्न सक्दैनौं । अझ गितमा अभिनय यस्तो हुन्छ कि मानौ वेश्यालयको एउटा कोठीमा सुटिंङ् गरेको जस्तो लाग्छ ।
गित सर्जक उस्तै छाडा, भ्युज पाउनलाई स्थापित गायिका छाडा,अभिनय गर्ने कलाकार निर्लज्ज बनेर तयार गरिएको गित र भिजुयलले हाम्रो कस्तो संस्कृति बंशजहरूमा हस्तान्तरण हुँदैछ ? हामीले सोच्ने बिषय हैनन् र ?
बाबाले सारेको सुन्तलाको बिरूवा
आमाले हुर्काउनु भो पानी हालेर
सानैमा मलाई मुन्द्री लाउने रहर
आमाले किन्दिनुभो बाख्रा पालेर
आमाले पकाएको मिठो दर खानी हो
तीजैमा माइती घर जानी हो ।
यसरी माइतीको आँगनलाई स्वर्ग ठानेर गित गाउँदा तीज तीजमय हुन्छ ।
तर अहिलेका गित सर्जकहरूले सृजना गरेका गित–
 –बिस्तराले पोल्यो,
–बिहेको राती के हुन्छ साथी,
–चोखो पोको बिहे अघि दिन्न,
–तिन महिने सुई लाउंछे –जस्ता गितलाई हामीले तीजका गित मान्दिनुपर्ने ? छी !! छिः छिः ।
रत्यौलीमा समेत यति छाडा गित गाउंन सकिंदैन । तर हामी यस्तै गितमा रमाइदिन्छौं । यतिसारो बिकृतिलाई संस्कृती भनेर पुस्तान्तरण कसरी गर्ने ?
अब तीजको दर खाने कुरा गरौं । लगभग जनैपूर्णिमा देखि चेलीबेटी लिनजाने ल्याउने हुन्थ्यो । श्रीकृष्ण जन्माष्टमीलाई त सानो तीज पनि मानिन्छ । पहिले छोरीहरू सरकारी कामकाजमा वा अन्य अर्थोपार्जनका क्षेत्रमा कम सहभागी भएकाले होला घरगृहस्थबाट केही क्षण बिश्राम तीजकै मौकामा पाउँथे । बाहिर होटल, ब्याग्ंक्वेटहरूमा दर खांदैनथे ।घरमै आमाले पकाएको दरमा खाजा, खीर, कांक्राको अचार, करेलाभिन्डीको अचार, घिरौंला, चिचिन्डाको तरकारी अलौकिक स्वाद मानेर खाने गरिन्थ्यो ।दर खाने दिनमा मासुको परिकार खाने चलन थिएन तर आज तीजको दर खान पार्टीप्यालेस, होटल जानुपर्छ । तीजका गीत हुन्छन्– मुन्नी बदनाम हुइ डार्लिंग तेरे लिए, कमरिया करे लपालप ललिपप लगेलु । यस्तै गितमा वियर, वाइनको चुस्की लिंदै उत्ताउलो नाच नाचेर तीजको मौलिकता कसरी बंच्ला ? एक महिना अघिदेखी दर खान हिंड्दा त्यो दरको महत्व कति रहला ? यस्तो नगरौं भन्दा केही अभियन्ता तथा महिला नेतृहरू कुर्लिनुहुन्छ ।अब कसरी रूपान्तरण 
हुन्छ ? हाम्रो मौलिकतालाई बचाउने दायित्व हामी महिलाको हैन र ?
तीज हाम्रो मौलिक चाड हो । संस्कृति हो । मौलिक संस्कृति हाम्रा पहिचान हुन,् यीनको ईज्जत राखौं । देशमै भएकाले तीजलाई विलय गराउन लागिपरेका छन् तर देश बाहिर भएका नेपालीले अंगालेका छन् । आज तीज अष्टर््ेलिया, अमेरिका, जापान, दुबईमा मौलिक गित सुनेर दर खाएर मनाउंदै छन् यहां मुन्नी बदनाम हुई भनेर बाख्रे डान्स गरेर तीजको बेइजत गर्दैछन् । यस्तै हो भने हाम्रो मौलिक संस्कृति खोज्न केही बर्षपछी सात समुन्द्र पारी जानुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
अझै पनि समय छ, हामी सुध्रिनको लागि । तीजको विशेषता यसरी बदनाम नगरौं, तीजलाई तीजकै रूपमा संस्कृतिमय बनाऔं । बेलैमा सचेत बनौं मौलिक चाड संस्कृतिका धरोहर हुन्, यिनलाई बचाईराखौं । सम्पूर्ण नेपाली दिदीबहिनीहरू(देशबिदेशमा रहनुभएका) लाई तीजको शुभकामना ।