Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

तीज चाड कम बिकृति बढी भो

देवी काफ्ले

०४ मंगलबार , भाद्र २०८१२ महिना अगाडि

तीज चाड कम बिकृति बढी भो

तीज भड्किलो भयो । महिला चाड भन्दा बढी बिकृति बढ्यो । तीजका गीतहरू छाडा हुनथाले । कसरी संस्कृति बचाउने ? चिन्ता बढेको छ । 
दर खान दिदी बहिनीहरू जुटे पनि दरलाई दरकै रूपमा खाऔं । सबैले खान सक्ने हैसियतले खाऔं । धेरै गहना कपडामा खर्च नगरौं । घर टोलमा मिलेर खाऔं । पारिवारिक वातावरणमा खाऔं । गाऔं । नाचौं ।
केही महिलाको आवाज छ बर्षदिनमा आउने तीजमा आफ्नो तरीकाले मनाउन नपाउने ? आफ्नो तरिकाले खुशी साट्न नपाउने ? चाड मान्न, होटल पार्टी प्यालेस जान नपाउने ? अडियो बजाएर नाच्न नपाउने ? के अब हामीले खाना खान होटल जाँदा पनि प्रशासनको अनुमति लिनु पर्ने ? यही हो महिला अधिकार ?
पार्टी प्यालेस, होटल ब्याबसायीको ब्यापारमा केहि धक्का अवश्य लागेको छ । केही जिल्ला प्रशासनले गरेको निर्णयले । तर प्रशासनको निर्णय सहि भन्ने एउटा बर्ग छ भने अर्को बर्ग छ के तीज नेताको पेवा हो र ? अनि संस्कृति नै छ गहना लगाउने, नयाँ सारी चोली लगाउने हामीले किन नलगाउने ?
सामाजिक सन्जाल त तातेकै थियो हुंदाहुंदै केही गाउँ, नगरमा त संस्कृति माथि धावा बोलियो भनेर पत्रकार सम्मेलन कै आयोजना पनि भएका छन्  । बिरोध अबरोध पनि भैरहेका छन् । हालैका दिनमा निस्केका तीजका गीत साह्रै नै उत्ताउला भएकाले आपत्ति प्रकट भइरहेका छन् । दोहोरी र तीजका गीतमाथि लोकगीत गाउनेहरूले नै रोक लगाउन माग गरेका छन् ।
देशका अन्य महानगर, नगरपालिकामा यस बिषयमा टड्कारो रूपमा बहस थालिएको छ ।
अब यो बिषयलाई सबैले सकारात्मक रूपमा लैजानु पर्छ भन्ने मान्यता मेरो पनि हो । तीज हामी नेपाली नारीको महान् धार्मिक आस्था बोकेको चाड हो । यसमा दुई मत छँदै छैन । केहि समय यता तीजमा केही बिकृति ब्यापक रूपमा फैलिएको सत्यतालाई कसैले नकार्न खोज्छ भने त्यो ढोंगी हो । त्यसले तीजको महत्व बुझेकै छैन । मैले बबिता बस्नेतलाई चिन्दिन तर पनि केही समयअघि उहांले लेखेको घटना र बिचार को लेख मैले पढें । थोरै कुरामा सहमत भय पनि धेरै कुरामा म सहमत हुन सकिन किनकी उहांले एउटा ठाडो प्रश्न तेर्स्याउनु भयको छ । जहाँ लेखिएको छ– जिल्ला प्रशासन कांस्कीले महिला संजाल प्रयोग गरेर दर खाने कार्यक्रमलाई रोक्न दवाव दियो । महिलाले जसरी पनि निराहार ब्रत बस्नै पर्छ । त्यस्तै गरगहना र कपडाको बिषय पनि जोड्नु भएको रहेछ । यस्ता कुरा आज पनि समाजमा उठेका छन् ।
हो सामाजिक महिला अभियन्ता अन्जु क्षेत्री र उनको टिमले यो बिषयमा धेरै नै अध्ययन गरेर अब यसरी तीज लम्बियो भने हाम्रो संस्कार केही बर्षमा नै कुसंस्कार बन्ने छ यसले समाजमा फेरी महिला महिला बिच नै भेदभाव र शत्रुको रूपमा परिस्कृत गर्ने छ भनेर नै ज्ञापनपत्र बुझाएको पनि देखियो । यस्ता बाद प्रतिवादका घटना यसपाली पनि समाजमा बढेका छन् ।
म सोध्न चाहान्छु– केही बर्ष अगाडी पार्टी प्यालेस चल्तीमा थिएन । के त्यो बेला महिलाले तीज मनाएकै थिएनन् ?
हाम्रो संस्कारमा तीजको दर खान माछा, मासु, वाइन, बियर र भोड्काजस्ता लागू पदार्थ प्रयोग हुन्थे ?
मसँग कसैले सोध्नु पर्दैन आफ्नै आत्मालाई सोध्नुहोला ।
यहाँ त असारदेखि होटल पार्टि प्यालेस बुक गरेर कहिले कुन पार्टी प्यालेस कहिले कुन पार्टी प्यालेस दर खान भन्दै लर्को लाग्न थाल्यो ।
अनि हामीले तीज मनाउन पार्टी प्यालेस जाँदा घरमा छोराछोरीलाई लिएर जान्छौं की छोडेर ? एक दिन भए त छोडेरै जाने हो, हाम्रो पनि स्वतन्त्रता छ  । तर दुई महिना देखी जाँदा छोराछोरीले नै सोधे मम्मी तीज भनेको कति महिना मनाऊने ? दशैं त स्कूल ७ दिन मात्रै बिदा हुन्छ  । तीजमा बिदा एक दिन तर दर चाहीं महिना दिन ? यो अवस्थामा हामीले जवाफ के दिने ?
म सानो जागिरे मेरो साथी हुनेखाने परीवारकी र लोग्नेले जग्गाको कारोवार गरेर टन्न कमाउने । उसले लगभग दिन बिराएर असारदेखि नै दर खाने कार्यक्रममा जाउं पैसा १०००– २००० त हो नी भन्दै प्रत्येक पल्ट साडी फेरेर जाँदा मलाई लाग्थ्यो यो चाड किन आयो ? न त मलाई गहना फेरेर लाउन पुग्छ न त महंगा पोशाक नै मेरो त दुई जनाको कमाईले तिनजना छोराछोरी पाल्न र महिना गुजार्न ठिक्क । एउटा अलि महँगो साडी किन्यो की बर्ष भरीको बजेट लथालिंग हुन्छ । अनि मेरो लागी भार भएन त तीज ?
अहिले फेरी कुरा आयो पहिले आँगन हुन्थ्यो अहिले आँगन छैन कहाँ नाँच्ने अरे ? जहाँ ईच्छा त्यहाँ उपाय आउनुस् मेरो घरमा नाचिदीनुस् स्वागत छ ।
मैले अहिले सम्म पनि बुझ्न नसकेको हो या म सामाजिक हुन नसकेको हो या त संस्कार नबुझेको हो थाहा छैन तर यही तीजलाई बिवादित गराइएछ दलको नाममा । अन्ततः महिलाको बिरोधि महिला हो भन्ने तथ्य प्रमाणित गर्दैछन् स्वयं महिलाहरू नै । नपढेकाले बुझेनन् पढेकाले बुझेर बुझ पचाएका छन् ।
ए बुजुर्ग महाशयाहरू तीजलाई परम्परा संस्कृतिअनुसार मनाउँ न ।
तपाईंहरूसँग धन छ दिनहुँ मिठो खानुस् । होटल पार्टी प्यालेसमा जानुस्, हामीलाई आपत्ती छैन तर मनको बेदनाको कुटुरो खोल्ने यो चाड हामीलाई पनि आउन दिनुस् न ।
फेरी पनि महिला अधिकार कर्मीहरू, महिला नेतृहरूले नै यो कुरा बुझ्न नचाहेको जस्तो लाग्यो । उहाँहरू बुझ्न नसक्ने, अनपढ महिलाले कसरी बुझ्ने ? दर खाऔं, समाज नबिथोलौं ।
हामी कहाँ महिला पछी परियो भनेर नारा आजकल पार्टीप्यालेसमा पो लाग्दोरहेछ । महिला अधिकार त्यतै पाइन्छ ? किन आर्थिक, राजनैतिक, सामाजिक समानता खोज्नु अनि असमान चरित्र देखाउनु ?