Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

चारू मजुमदार लजाउने नेपाली कम्युनिष्टहरू

राजन कार्की

०४ मंगलबार , भाद्र २०८१२ महिना अगाडि

चारू मजुमदार लजाउने नेपाली कम्युनिष्टहरू

नेपाली कम्युनिष्टहरूलाई कम्युनिष्ट भन्न नसकिने भयो ।
गरीबी कम्युनिजमका लागि उर्बर भूमि हुनेरहेछ । यो उर्बराको अधिकतम शोषण गरेर नै कम्युन्यालिष्टहरू कम्युनिजमको खेती गर्दा रहेछन् र स्वार्थको बाली भित्र्याउँदा रहेछन् । जनमत संङ्ग्रह गर्दा कम्युनिजमले काम ग¥यो, हो, बहुदलले जित्न सकेन । तर १२ वर्षभित्रै सडक आन्दोलन भएर दलमाथिको प्रतिवन्ध फुकुवा भयो, सडक आन्दोलनमा प्रजातन्त्रवादीले भन्दा प्रभावकारी आक्रोश वामपन्थीकै थियो । १० वर्षे जनयुद्धमा वामपन्थीले गरीबहरूलाई बन्दुक बोकाए, ०६२–६३ सालको जनआन्दोलनमा पनि वामपन्थी नै हावी भए । राजतन्त्रको अन्त्य, हिन्दुधर्मको बिनास, लोकतन्त्रको नाममा लूटतन्त्र चलाउन कम्युनिष्टहरू अग्रपङ्तिमा देखिए । बहुदलपछिको ३४ वर्ष र लोकतन्त्रको १८ वर्ष कम्युनिष्टकै जाज्वल्यमान समय थियो । यो समयमा कम्युनिष्टले आफूले आफैलाई नवसामन्तवादको बादशाह नै साबित गरिदिएका छन् ।
नेपाली वर्णपटलाई पल्टाउँदा देखिन्छ– २००७ सालमा नेपाली कांग्रेसले प्रवासबाट लैनछोकडा ल्यायो र तिनलाई बन्दुक बोकाएर मुक्तिसेनाको नाम दियो । राणाको प्रहरी रामदल र कांग्रेसको मुक्तिसेना मिलाएर पहलसिंह लामाको नेतृत्वमा प्रहरी संगठन खडा गरियो, जुन आजको नेपाल प्रहरी हो । नेपाल प्रहरी सत्य सेवा सुरक्षाको मन्त्र बोकेर हिडेको छ तर प्रहरी देशको कम राजनीतिक पार्टीको आदेश र निर्देशनमा बढी चल्ने गरेको छ । राजनीतिकरण भएको छ ।
२०५२ सालमा सुरू भएको जनयुद्ध १० वर्ष चल्यो । जनयुद्ध हाँक्ने कमाण्ड, हाइकमाण्डले १८ वर्ष राजनीतिको निर्णायक नै बन्न भ्याए । त्यसो त २०२८ सालतिर जनवादी विद्रोह गर्ने झापा आन्दोलनकारीका एक नाइके केपी ओली चौथोपल्ट प्रधानमन्त्री बन्न सफल भएका छन् । प्रचण्ड र ओली, यी दुबै कम्युनिष्ट थिए र दुबै वामशक्ति मिलेर नेकपा बनाए, फुटे, दुबैले प्रजातन्त्रवादीलाई टेको बनाउन सफल भए । आफूलाई कम्युनिष्ट भन्ने यी दुबैले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हान्न सफलता हासिल गरे ।
यिनले बिर्सिए– नक्सलवाडीका कम्युनिष्ट नेता चारू मजुमदारले कार्यकर्ताले पुँजीवादी चोला फेरे भनेर रूखमा झुण्डिएर मर्नुप¥यो । चीनका राष्ट्रपति सीजिन पिङले खुला अर्थनीति अँगालेर चीनलाई विश्वशक्ति त बनाए, तिनै सीजिन पिङले नेताका सम्पत्ति सबै राष्ट्रको हुने घोषणा गरेका छन् र बेलायतमा नाम चलेका नेपाली प्रोफेसर कुलबहादुर लुइटेलका अनुसार बृटिस दृष्टिमा कम्युनिजम विश्वमा असफल शिद्ध राजनैतिक व्यवस्था हो । अर्थात कम्युनिष्ट सपनामा भुलाउने गफ हो, राष्ट्रवाद बलियो पार्ने अभियान होइन । कम्युनिष्ट अविश्वसनीय छन् ।
हो, २०४६ सालको परिवर्तनपछि चुनाव कांग्रेसले जिते पनि देशै राताम्मे देखिएको थियो । सूर्यअंकित झण्डा जनआन्दोलन सफल भएको २०६३ वैशाख ११ गते विहानसम्म कतै थिएन । थियो त रूखका हाँगा र माओवादी लडाका तथा समर्थकका सलह पंक्ति थियो । मंसिर ५ गते शान्ति सम्झौता गर्ने दिनसमेत सूर्यअंकित झण्डाको रङ् कतै कतै मात्र थियो । राजतन्त्रको निर्णय जनमत संग्रहबाट हुनुपर्ने एमालेको अडान एकाएक कुनै आकाशवाणीको निर्देशनमा बदलियो र गणतन्त्र कार्यान्वयन सम्भव भएको हो । गणतन्त्र कार्यान्वयन प्रस्ताव तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभामा पेश गर्न सकेनन्, उनले खेताला पठाए कृष्णप्रसाद सिटौलालाई जो चुनाव हारेका कांग्रेसी थिए । किन ? कसको आदेशले ? यसबारेको भुलभुलैया अझै कायमै छ ।
जेहोस्, विधिसंगत गणतन्त्र कार्यान्वयन भयो भनिन्छ । संविधान पनि निर्माण भयो । ०६४ सालको बहुमतको माओवादी ३२ सिटे हुनपुगेको छ । ढाडमा टेकेर टाउकोमा हान्ने र लुकेर हिर्काउने रातो कितावका घोकन्ते कम्युनिष्टहरू शनैः शनैः ओह्रालोयात्रामा छन् । संगठन बलियो पार्न सकेको कारण एमाले होसमा छ, बाँकी पार्टीहरू बेहोसमा छन् । यद्यपि कम्युनिष्टहरू कम्युन्यालिष्ट बनेर बदनाम छन् ।
शक्ति बन्दुकको नालबाट निस्कन्छ, संसद भनेको बोकाको टाउको देखाएर बाख्रीको मासु बेच्ने थलो भन्ने कम्युनिष्टले स्थानीयदेखि राष्ट्रियतहसम्म एकछत्र शासन गरिरहेका छन् । २०१५ सालको चुनावमा ४ सिटे कम्युनिष्टहरू गुट फुटमा भए पनि अझै प्रभावशाली नै देखिन्छन् । यो सबै गरीबीका कारणले हो । सत्यको चेतना छ, गरीबीका कारण जनता कम्युनिष्ट पार्टीका लहरमा गाँसिन छाडेका छैनन् ।
लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्टको जित, कम्युनिष्टको दबदबा । यो आश्चर्यको परिदृश्य हो । नेपालको कम्युनिष्टतन्त्रको निरन्तरता देखेर सारा विश्व चकित त भयो, यो चमत्कारमा नागरिकले पटक पटक समर्थनको पञ्जाछाप पनि लगाइदिएका छन् । यो लोकतन्त्रका लागि थियो, अधिनायकवादका लागि पञ्जाछाप थिएन । नागरिकदेखि सिङ्गो विश्व नेपालको कम्युनिष्ट शासनलाई चीलका नजरले हेरिरहेका छन् । कम्युनिष्टले लोकतन्त्रका नाममा निरंकूशता, परिवारवाद कति चलाइरहलान् ?
नेपालमा को छ कम्युनिष्ट, के छ कम्युनिष्ट ? यो गम्भीर प्रश्नमा विश्लेषण सुरू भइसकेको छ ।
कारण, कम्युनिष्टहरू जुकाको जस्तो भ्रष्टाचारी पित्ले, घ्याम्पे भुँडीवालबनेका छन् । एनजीओदेखि बैंकरसम्म, स्कूलेदेखि युनिभर्सिटीसम्म, स्वास्थ्यदेखि जलस्रोतसम्म, सञ्चारदेखि सेयरबजारसम्म, राज्य र समाजका सबै सञ्जालहरूमा कुनै खन्चुवा, भ्रष्ट, दलाल, पदीय दुरूपयोग गर्ने र नीतिगत भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ भने सयमा ८० प्रतिशत कम्युनिष्ट छन् । अव त सुनतस्करीदेखि माफियासम्म,  डन र दस्ता खडा गरेर कमाउ अभियानमा लागेका र कुनियत, अस्लिल कृयाकलापमा समेत कम्युनिष्ट जोडिन पुगेका छन् ।
यसकारण प्रश्न उठेको छ– को छ कम्युनिष्ट ? के छ कम्युनिष्टजस्तो ?
कम्युनिष्ट सर्वहारावादी भनिन्छ, सम्पत्तिवाला यिनै बनेका छन् । २०४६ सालपछि भ्रष्ट कांग्रेस अथवा मधेसी नेताहरूमात्र होइन, सबैभन्दा भ्रष्ट त कम्युनिष्टहरू पो रहेछन् । यसले के देखाउँछ भने राजनीति कम्युनिष्टका लागि मुनाफाको ग्यारेण्टी भएको पेशा बनेको छ । यो पेशामा कम्युनिष्ट उत्पादक, डिलर, सवडिलर सबै आफै बनेका छन् । सर्वहारा बर्गको नारा लगाउने कुनै कम्युनिष्ट नेता सर्वहाराजस्तो देखिन्छ ? मोहनचन्द्र अधिकारी जो सच्चा कम्युनिष्ट हुन्, उनी त माँगेर हिड्न बाध्य छन् । रूद्राक्षका गेडा गनेर श्रीकृष्ण भन्न थालेका भेटिन्छन् ।
अन्य नेपाली कम्युनिष्ट नेताको अनुहार र तिनको रहनसहन हेर्दा लाग्छ, नेपालका कम्युनिष्ट करोडीमल हुन्, अरवका शेख हुन् । करोडीमल र शेखको सोच राष्ट्रिय गौरव, गरीव, किसान, मजदुर, महिला, सिमान्तकृत बर्ग, दलिततिर होइन, स्वार्थ र सत्तामा बढी हुनेगर्छ । जव जनता जनता जोड्न सकिन्न, त्यो देशको आधार जहिले पनि बालुवाको ढिस्को जस्तो हुनेगर्छ । यी कम्युनिष्ट करोडीमल, शेखहरूले राज्यसँग १ सय २६ जातिलाई जोड्ने होइन, यिनलाई फोडेर यिनको हक खोस्ने, भोट बैंक निर्माण गर्नतिर नै लागिरहेको देखिन्छ । यहाँसम्म कि योजना आयोग र सरकारको योजना र विकास बजेट संघीयतातिर काटेर सांसदको हातहातमा दिएको पु¥याउने यिनै हुन् । सांसदलाई ठेकेदार बनाउने र बिल भपाई मिलाएर भ्रष्टाचार गर भनेर उक्साउने कम्युनिष्ट नै हुन् ।
यस्ता नेताहरू आफूलाई कम्युनिष्ट भन्छन् । भएका उद्योग बेच्ने, राज्यसम्पत्तिमा माफियाकरण गर्ने, विधिमाथि हैकम चलाउने, युवा निकासी गरेर रेमिटान्समा ढलीमली गर्ने, यस्ता पनि कम्युनिष्ट ? चीन, भियतनामबाट सिक्ने भए जनताले धेरै अवसर दिएकै हुन्, समाजवादका लागि कालजयी निर्णय गरेर महाथिर बन्ने मार्ग कुनै नेताले लिएनन् । के छ कम्युनिष्ट, को छ कम्युनिष्ट ? उही हाटहुट, लाटलुट ।
भ्रम छर्न खप्पीस छन् कम्युनिष्टहरू । पानीजहाज, हावाबाट विजुली, १० वर्षमा देशै स्वर्ग बनाउने कुरा । समानता र समृद्धिका कुरा । यिनका समाजविरोधी चाला बुझ्नेहरू भन्छन्– अलि हजम भएन ।
हुन त पागलको नाम बुद्धिबहादुर, नेत्रहीनको नाम नेत्रबहादुर राख्ने देश हो यो । जो कम्युनिष्टजस्तो छैन, कम्युनिष्टजस्तो केही छैन, ती नेता कम्युनिष्ट नेता, ती पार्टी नेकपा ।
कुनै पार्टी वा नेता नीतिमा अडेनन्, जनविरोधी काम ग¥यो, आफैमा बिभाजन भयो, स्वार्थ मिल्नेभए हातेमालो ग¥यो । कांग्रेस वा अन्य लोकतन्त्रवादी पार्टीसमेत कम्युनिष्टजस्ता देखिन पुगे । यो कम्युनिष्टतन्त्रको जीत होइन, स्वार्थी र अवसरवादी राजनीति मात्र हो ।
संविधान लोकतान्त्रिक छ, पद्धति लोकतान्त्रिक हो । कमाण्डमात्र कम्युनिष्टको हातमा हो । यो अनौठो संयोगलाई सदुपयोग गरेर देशको दिशा दिन कम्युनिष्टहरू असफल भएकै हुन् । फेरि पनि प्रश्न उठ्नेछ, के छ को छ कम्युनिष्ट ?
एउटा डरलाग्दो आशंका गर्न सकिन्छ । भारतले सिक्किम खानका लागि महारानी होप र लेण्डुप दोर्जीको हतियार चलाएको थियो । २१औं शताव्दीमा कम्युनिष्टको ऐतिहासिक विजय, कम्युनिष्टको सरकार ? चाप्लुसका कारण नेपालको राजतन्त्रात्मक इतिहास मेटियो । कम्युनिष्टको यो जीतका पछाडि पराईको कुनै ग्य्राण्ड डिजाइन त छैन ? किनभने जनादेश नै नलिई हिन्दुधर्म र राजतन्त्र सिध्याउने काम यिनैले गरे, यिनले विदेशी सहयोग लिएकै हो । विदेशी पैसाले संविधान लेखियो, चुनाव गराइयो, जित्नेले जिते, विदेशी सहयोगको स्वागत गर्नेले अदालत, सर्वोच्च, संसदसम्म दातृ समूहलाई प्रवेश गराएका छन् । संसदमा नेमकिपाका सांसदको ताजा प्रश्न छ– हामीले खाने भातमा कुन दातृसमुदायको सहयोग छ ? यो प्रश्न मृत्युघण्टाजस्तो बज्दैन भने नेपाल र लोकतन्त्र कसरी बच्छ ? के छ कम्युनिष्ट, को छ कम्युनिष्ट ?