Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

न्यु मिडिया समृद्धिका बाहक हुनुपर्छः अध्यक्ष बस्नेत

०१ शनिबार , भाद्र २०८१२ बर्ष अगाडि

न्यु मिडिया समृद्धिका बाहक हुनुपर्छः अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियाले समृद्धिका बाहकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

प्रविधिको विकासले फड्को मार्दै जाने, समाचारको गुणस्तरमा परिवर्तन नआउने हो भने मिडिया जगत्को विकास हुन नसक्ने उहाँले औँल्याउनुभयो । ‘सूचना प्रविधिको विकास सँगसँगै मिडियामा आउने समाचार सामग्रीको स्तरमा सुधार हुन जरुरी छ । हरेक दिन जस्तो प्रविधिमा फरकपन छ । समाचारका प्रस्तुति र स्तर पुरानै शैलीका देखिन्छन् । यसमा सुधार जरुरी छ’ शुक्रबार अनलाइन र युट्युब माध्यमका सम्पादक, प्रकाशकको अन्तरक्रियामा अध्यक्ष बस्नेतले भन्नुभयो । 

उहाँले मुलुकको समृद्धिका लागि सिर्जनात्मक खोजी र रचनात्मक पत्रकारितालाई बढावा दिनुपर्ने सुझाव दिनुभयो । ‘न्यु मिडिया विकास र समृद्धिको बाहक बन्नुपर्छ । प्रविधिमैत्री बनी रचनात्मक र चाखलाग्दा समाचार सामग्री दिन सके मिडिया जगत्ले फड्को मार्न सक्छ’ उहाँले भन्नुभयो । पछिल्लो समय काउन्सिलले रचनात्मक पत्रकारिताको बहसलाई देशव्यापी बनाउँदै लगेको जानकारी दिँदै उहाँले मिडिया बचाउनका लागि सञ्चार माध्यमका रणनीति र योजनामा पुनरावलोकन गर्न सुझाव दिनुभयो । सङ्कटमा पर्दै गएको मिडिया क्षेत्रलाई जोगाउन सरकारले प्रभावकारी कार्यक्रम तय गर्नुपर्ने भन्दै अध्यक्ष बस्नेतले भन्नुभयो ‘सामाजिक सञ्जालको बढ्दो प्रयोगले अवसर र चुनौती दुवै ल्याएको छ । मिडियामा यसको रचनात्मक प्रयोगलाई बढावा दिने हो भने अहिले समस्या घट्दै जानेछन् ।’

कार्यक्रममा प्रस्तुति राख्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अनलाइन सञ्चार माध्यमलाई समाचार दिने होडबाजी नगरेर जिम्मेवार हुन सिक्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारले गर्न हुने र नहुने पक्षबारे प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकाहरूको अहिलेको अवस्था एवं सदुपयोगबारे अभिमुखीकरण दिनुभएको थियो ।