Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

घुम्ती सेवाबाट पोर्चुगलमा चार हजार नेपालीको राहदानी नवीकरण

३१ बिहिबार , श्रावण २०८१२ महिना अगाडि

घुम्ती सेवाबाट पोर्चुगलमा चार हजार नेपालीको राहदानी नवीकरण

पोर्चुगलमा घुम्ती सेवामार्फत झण्डै चार हजार नेपाली नागरिकले राहदानी नवीकरण गराएका छन् । राहदानी विभाग र पेरिसस्थित नेपाली राजदूतावासको टोलीले पोर्चुगलको राजधानी लिस्वनमा अगस्ट २ देखि अगस्ट १३ तारिखसम्म राहदानी नवीकरण घुम्ती सेवा आयोजना गरेको थियो ।

घुम्ती सेवाबाट तीन हजार आठ सय २९ जना नेपालीहरुले आफ्नो राहदानी नवीकरण गराएको दूतावासले जानकारी दिएको छ । जसमा एक सय २१ जना नाबालक, तीन हजार तीन सय ८० नवीकरण र हराएका तीन सय २८ जना रहेका छन् ।

राहदानी सेवा सञ्चालनबाट चार लाख ९१ हजार ५८० युरो अर्थात् सात करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैयाँ बराबरको राजस्व संकलन भएको दूतावासले जनाएको छ । पोर्चुगलमा हाल ५० हजारभन्दा बढी नेपालीहरु बसोबास गर्छन् ।

घुम्ती सेवामा राहदानी विभागका निर्देशन, शाखा अधिकृतसहित दूतावासका तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी भएका थिए । घुम्ती सेवाको व्यवस्थापन गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो ।

दूतावासले शिविरमा आएर आवेदन दिएका, हालसम्म विभिन्न शिविर तथा प्रत्यक्ष रुपमा पेरिसमै आई आवेदन गरी तयार भएका तर बुझिलिन बाँकी रहेका राहदानीहरु वितरण र नवीकरणको लागि छुट भएका नेपालीहरुको राहदानी नवीकरण गर्ने गरी छिटै राहदानी विभागसँग समन्वय गरी अर्को शिविर सञ्चालन गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।