Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महानगरले किम्ची रेस्टुरेन्टलाई तिरायो जरिवाना

२८ सोमबार , श्रावण २०८१२ महिना अगाडि

महानगरले किम्ची रेस्टुरेन्टलाई तिरायो जरिवाना

काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एण्ड फास्ट फुडलाई कारबाही गरेको छ । पानीमा कीरा भेटिएपछि महानगरले रेस्टुरेन्टलाई कारबाहीस्वरुप दुई लाख रुपैयाँ जरिवाना तिराएको हो ।

शुक्रबार रेस्टुरेन्टको हलमा महानगरले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्ताका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।

सो क्रममा वडा नम्बर ११ की सदस्य यथोमती परियारले सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थाल्दा पानीमा कीरा सल्बल्याएको देखिन् । उनले लगत्तै उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइन् ।

त्यसपछि अनुगमन समितिकी संयोजकसमेत रहेकी डंगोलले दूषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिँदै कार्यक्रम स्थगित गरिन् । ‘पानीजन्य संक्रमणका जोखिम रहेको अवस्थामा सिल बोतलभित्रै अखाद्य वस्तु देखिनु चरम लापरबाही हो,’ उनले भनिन्, ‘महानगरले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापरबाही नगर्न व्यवसायीहरुलाई अनुरोध गर्दै आएको छ । तर, अटेर गर्नेहरुलाई कानूनी कारबाही गर्नुको विकल्प छैन ।’

सोहीअनुरुप महानगरले दूषित पानी बिक्री गर्ने किम्ची रेस्टुरेन्टलाई हिजो दुई लाख रुपैयाँ जरिवाना तिराएको जनाएको छ । महानगरका अनुसार रेस्टुरेन्टबाट बिक्री भइरहेको पानी  टोखा नगरपालिका–८, बाट उत्पादन भएको सिटी मिनिरल वाटर एण्ड वेवरेज प्रालिले उत्पादन गरेको ‘इको’ ब्राण्डको पानी हो ।