Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वर्षाको उच्च जोखिम रहेका जिल्लामा रात्रि बस नचलाउन निर्देशन

२३ बुधबार , श्रावण २०८१२ महिना अगाडि

वर्षाको उच्च जोखिम रहेका जिल्लामा रात्रि बस नचलाउन निर्देशन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अति भारी वर्षाको उच्च जोखिम रहेका जिल्लामा रात्रीकालिन बस नचलाउन निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गर्दै अति भारी वर्षा हुनसक्ने उच्च जोखिम भएका ३४ वटा जिल्लामा रातको समयमा बस नचलाउन भनेको हो ।

प्राधिकरणका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडीमा भारी तथा अति भारी वर्षाको उच्च जोखिम रहेको छ ।

‘रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका यी जिल्लामा रात्रीकालिन बस नचलाउनू,’ प्राधिकरणले भनेको छ । यस्तै, यी जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न पनि निर्देशन दिइएको छ ।

प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद्सम्बन्धी काम गर्ने साझेदार संस्थासँग समन्वयमा रहन, भारी वर्षा हुने ती जिल्लाहरुमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि तीन वटै सुरक्षा निकायहरुलाई तयारी अवस्था रहन पनि आग्रह गरेको छ ।

योसँगै आम नागरिकलाई समेत भारी वर्षाको अवधिभर अत्यन्त जरुरी अवस्थाबाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा रहेका बासिन्दालाई चनाखो रहन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान र आपत परेमा सुरक्षा निकाय, एम्बुलेन्सलगायतलाई तुरुन्तै फोन गर्न अनुरोध गरिएको छ ।