Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महानगरले होस्टेलहरुको अनुगमन गर्ने

२२ मंगलबार , श्रावण २०८१२ महिना अगाडि

महानगरले होस्टेलहरुको अनुगमन गर्ने

काठमाडौं महानगरपालिकाले छात्रावास (होस्टेल) को अनुगमन गर्ने भएको छ । होस्टलमा अवाञ्छित क्रियाकलाप हुने गरेको गुनासो आएपछि महानगर क्षेत्रभित्रका छात्रावासको अनुगमन गर्न लागिएको हो ।

हिजो महानगरको अनुगमन समितिकी संयोजक एंव उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा नेपाल होस्टल एशोसिएसन, होस्टल व्यवसायी संघसहितका पदाधिकारीको उपस्थितिमा बसेको बैठकमा उनले पूर्ण रुपमा मापदण्डको पालना गरेर मात्र होस्टेल सञ्चालन गर्न अनुरोध गरेकी छन् ।

होस्टेल संघको तथ्यांकअनुसार महानगर क्षेत्रभित्र सञ्चालित होस्टलमा झण्डै ४० हजार विद्यार्थी बसिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘यत्रो ठूलो संख्यामा मानिस बसोबास गर्ने ठाउँको अवस्था र वितरण हुने सुविधाको निगरानी अनिवार्य भएको छ ।’

उपप्रमुख डंगोलले होस्टेलको अवस्था, सेवासम्बन्धी व्यवस्थासँगै होस्टेलमा बस्ने छात्राछात्र तथा अन्य व्यक्तिको व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी गरिनुका साथै  समूह विभाजन गरेर अनुगमन गर्ने बताइन् ।

यस्तै, होस्टेलमा चार जना बस्न मिल्ने कोठामा २० जनालाई राख्ने गरिएको र आवासीय भवनलाई व्यावसायिक बनाइएको पनि महानगरले जनाएको छ । छलफलमा वडा नम्बर १० का सदस्य सतिश तण्डुकारले भने, ‘रातको १० बजेपछि पनि होस्टलमा आवागमन भइरहन्छ । त्यसपछि को आउँछ, को जान्छ ? किन आउँछ, किन जान्छ ? केही थाहा हुँदैन ।’

महानगरका शिक्षा अधिकारी गोविन्द्रप्रसाद शर्माले विद्यार्थीहरुको अवस्था जान्नका लागि भएपनि होस्टेलको अनुगमन गर्नुपर्ने बताए । छलफलमा होस्टल एशोसिएशन र संघका पदाधिकारीहरुले करदेखि घरको मर्मत सम्भार, पानीको जोहो आफैंले गर्नुपर्ने भएकाले व्यावसायिक संकटमा रहेको बताए ।

छात्रावास (होस्टेल) लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन र त्यहाँ बस्ने विद्यार्थीको हितका लागि महानगरले यसअघि नै छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड, २०८० ल्याएको थियो । मापदण्डमा छात्रावासभित्र न्यूनतम सबै पूर्वाधार हुनुपर्ने व्यवस्था छ । जसमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबलसहित फोहोरमैला व्यवस्थापन तथा सरसफाईको प्रबन्ध हुनुपर्छ ।

त्यस्तै, कोठाहरु फराकिला, खुल्ला, पर्याप्त प्रकाश छिर्ने तथा दोहोरो हावा आउने जाने हुनुपर्छ । विपद् व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री राख्नुपर्ने तथा कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सिसिटिभी क्यामरा जडान समेत गरिनुपर्छ ।

योसँगै छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनु नहुने तथा एकबाट अर्कोको दुरी कम्तीमा दुई सय मिटर हुनुपर्छ । मापदण्डमा होस्टेल सञ्चालकको उमेर ३० वर्ष पूरा हुनुपर्ने र शुल्क, दण्ड सजायको समेत व्यवस्था गरिएको छ ।