Advertisement Banner
Advertisement Banner

०३ आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राष्ट्रिय परिचयपत्रमा सिन्दूर,पोते,टीका लगाएर फोटो खिच्न मिल्ने

१७ बिहिबार , श्रावण २०८१२ बर्ष अगाडि

राष्ट्रिय परिचयपत्रमा सिन्दूर,पोते,टीका लगाएर फोटो खिच्न मिल्ने

यसअघि राष्ट्रिय परिचयपत्र बनाउदा सिन्दूर, पोते र टीका हटाएर फोटो खिचाउन लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएर फोटो खिचाउन मिल्ने बताएको छ । विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन तथा सिन्दूर, पोते र टीका लगाएर फोटो खिच्न मिल्ने बताएको हो ।  

विभागले अब राष्ट्रिय परिचयपत्र बनाउदा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएर फोटो खिचाउन कुनै बाधा नभएको स्पष्ट पारेको छ । साथै, सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाई रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई पत्राचार गरी राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने प्रक्रियामा स्पष्टता ल्याउन र सेवाग्राहीलाई सहजीकरण गर्न सूचित गरेको हो ।

‘राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्नेछ । फोटो खिच्दा सिन्दूर, टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन,’ निर्देशनमा भनिएको छ ।

विभागले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सकल वा छायाप्रतिमा सम्बन्धित व्यक्तिले सकल बमोजिम नकल ठीक छ भनी प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडि बढाउन पनि निर्देश गरेको छ ।

त्यस्तै व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएमा सीआईएमएस नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ताको व्यवस्था मिलाउन आग्रह गर्दै अन्य जिल्लाका नागरिकहरूले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउन समेत विभागले निर्देशन दिइएको छ ।