Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त माग

१६ बुधबार , श्रावण २०८१२ बर्ष अगाडि

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त माग

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त माग गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी पन्ध्र दिनभित्र आवेदन पेश गर्न भनेको हो ।

सूचनामा उम्मेदवार ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तीमा दश वर्ष कार्य गरेको हुनुपर्नेछ । दरखास्तका साथ नियुक्ति हुन चाहेको व्यहोरा पनि खुलाउनुपर्ने छ ।

त्यस्तै, योग्यता र अनुभव खुल्ने व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि, पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना, विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको स्वघोषणा र पदसँग सम्बन्धित अन्य कागजात भए सोको प्रतिलिपि पनि बुझाउनुपर्नेछ ।

दरखास्त सञ्चार तथा सञ्चार प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा पेश गर्नुपर्नेछ । उम्मेदवारले पेश गरेको व्यावसायिक कार्ययोजना, सोको प्रस्तुतीकरण र अन्तवार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षबाट अभिनेता भुवन केसी गत साउन ९ गते बिदा भएका हुन् । दुई वर्षे कार्यकाल सकिएपछि गत बिहीबार उनको बिदाइ गरिएको थियो । अहिले बोर्डको अध्यक्ष बन्ने दौडमा निर्देशक दिनेश डीसी, अभिनेत्री करिष्मा मानन्धर, निर्देशक दयाराम दाहाल, निर्माता अर्जुनकुमार डंगोललगायत रहेका छन् ।