Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

महानगरले पोलियो खोप अभियान सञ्चालन गर्दै

०७ सोमबार , श्रावण २०८१२ महिना अगाडि

महानगरले पोलियो खोप अभियान सञ्चालन गर्दै

काठमाडौं महानगरपालिकाले पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ । महानगरले पाँच वर्षमुनिका बालबालिकाका लागि पोलियो खोप अभियान सञ्चालन गर्न लागेको हो ।  

यही साउन ९ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर बालबालिकालाई पोलियो थोपा खुवाउने योजना बनाएको महानगरले जनाएको छ । महानगरले यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो थोपा खुवाउने बताएको छ । महानगर क्षेत्रभित्र ६३ हजारबढी बालबालिका रहेको अनुमान छ ।

महानगरको स्वास्थ्य विभागको तथ्थांकअनुसार सबैभन्दा धेरै बालबालिका वडा नम्बर ६ मा रहेका छन् । त्यहाँ छ हजार १२ जना बालबालिका रहेका छन् । सबैभन्दा कम बालबालिका वडा नम्बर १ मा चार सय ६२ जना रहेको विभागले जनाएको छ । विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीसहितको टोली खटाएर घरघरमा पोलियो थोपा खुवाइने जानकारी दिए ।

पोलियो खोप पाँच हप्ता, दश हप्ता र १४ हप्ता उमेर समूहका शिशुलाई तीन पटक मुखबाट (ओर पोलियो भ्याक्सिन–ओपीभी) खुवाइन्छ । यस्तै, १४ हप्ता र ९ महिनाको उमेरमा सुईबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन–आइपीभी) दिइन्छ ।

नेपालमा सन् २०१० पछि पोलियो भाइरस देखिएको थिएन । पोलियो नदेखिएपछि सन् २०१४ मा पोलियोमुक्त देश घोषणा गरिएको हो । तर, सरकारले पोलियो उन्मुलन रणनीतिअनुरुप सन् २०१७ देखि वातावरणीय निगरानी गर्दै आएको छ ।  

जसअनुसार हरेक महिना दुई पटक उपत्यकाका विभिन्न पाँच ठाउँको ढलको नमुना लिई पोलियो भाइरस भए नभएको हेर्ने गरिएको छ । सोही क्रममा गत जेठ १३ गते काठमाडौंको टुकुचा–बागमती दोभानको ढलबाट संकलित पानीमा डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटिएको हो ।

यसको रिपोर्ट असार २९ गते आएको थियो । यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको छ । पोलियोमुक्त देश घोषणा भएको २० वर्षपछि वातावरणमा यो भाइरस देखिनुले चिन्ता उब्जाएको महानगरले जनाएको छ ।

महानगरले बालबालिकामा अतिशीघ्र लुलो पक्षाघातका लक्षण देखिए तत्काल खबर गर्न समेत आग्रह गरेको छ । पोलियो भाइरस भएमा बालबालिकाका कुनै पनि अंग तत्कालै लुलो हुने र एक भाग नचल्नेजस्ता लक्षण देखिने जनाइएको छ । यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकामा देखिन सक्छ ।