Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

इजरायल पठाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय

०४ शुक्रबार , श्रावण २०८१२ बर्ष अगाडि

इजरायल पठाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय

इजरायलमा केयर गिभर क्षेत्रमा रोजगारीको प्रलोभन देखाएर रकम ठगी गर्ने गिरोह सक्रिय भएको जनाइएको छ । वैदेशिक रोजगार विभागले आज विज्ञप्ति जारी गर्दै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरको रुपमा पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिहरुको समूहले अनाधिकृत रुपमा रकम असुली गरेको जानकारी प्राप्त भएको बताएको हाे ।

विभागले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता किसिमका ठगीमा संलग्नमाथि सुक्ष्म अनुसन्धान भइरहेको समेत जानकारी गराएको छ । इजरायलको केयर गिभर क्षेत्रमा पठाइदिने भनी विभिन्न व्यक्ति तथा समूहहरुबाट देखाइएको प्रलोभनमा नपर्न र यस्ता कार्यहरु भए गरेको जानकारी भएमा सूचना दिन समेत अनुरोध गरिएको छ ।

‘इजरायलको केयर गिभर क्षेत्रमा पठाइदिने भनी रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहहरुबाट देखाइएको प्रलोभनमा नपर्न सम्बन्धित सबैमा विभाग हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘विभागलाई प्राप्त सूचनाको आधारमा यस किसिमका ठगी र गलत प्रचारका सम्बन्धमा विभागले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेकोले यस्ता कार्यहरु भए गरेको जानकारी भएमा जोसुकैले कल सेन्टरलगायत विभागमा सूचना प्रदान गरिदिन अनुरोध छ ।’

विभागले इजरायलमा कामदार पठाउन छनौट प्रक्रियामा समेत कतिपय सञ्चार माध्यमबाट भ्रामक सूचना सार्वजनिक भइरहेको भन्दै त्यस्ता गलत सूचनामा विश्वास नगर्न पनि आग्रह गरेको छ । 
इजरायलमा कामदार पठाउने प्रक्रिया इजरायल सरकार र नेपाल सरकारको द्धिपक्षीय सम्झौताबमोजिम जी टु जी अन्तर्गत पर्ने भएकाले छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी हुने समेत विभागको भनाइ रहेकाे छ ।