दक्षिण कोरियामा वैदेशिक रोजगारीका लागि गएर नेपाल फर्किएका कामदारहरू पुनः जान पाउने भएका छन् । दक्षिण कोरियाबाट फर्किएका कामदारहरू रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत पुनः कोरियामा रोजगारीका लागि जान पाउने भएका हुन् ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले एक सूचना प्रकाशित गर्दै कोरिया गएर फर्केका कामदारहरूलाई पुनः कामदारको रूपमा पठाउनको लागि आवेदन माग गरेको हो । जसका लागि ईपीएस मार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधि भित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाहरुले मात्रै आवेदन दिन पाउने छन् ।
ईपीएस कोरिया शाखाकाे सूचनाअनुसार त्यस्ता कामदारले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउने बताइएकाे छ । उत्पादनमूलक क्षेत्रमा फारम भर्न चाहनेहरूले फारममा उल्लेख भएका ८ वटा समूहमध्ये जुन उपसमूहमा फारम भर्ने हो सोही उपसमूहसँग सम्बन्धित ८ वटा प्रश्नको उत्तर दिनुपर्नेछ ।
फारम भर्न चाहनेहरूले यहि साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिने र परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुने शाखाकाे सुचनामा उल्लेख गरिएकाे छ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिने र परीक्षाको नतिजा असोज २१ गते प्रकाशन हुने ईपीएस शाखाले जनाएको छ ।
त्यस्तै, १८ वर्ष उमेर पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानूनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको, कोरियामा ई–९ र ई–१० भिसामा पाँच वर्षभन्दा बढी अवधि नबसेको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।