Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजस्व रकम रेडियोग्राफरको गोजीमा, सशस्त्रका इन्स्पेक्टरको प्रमाणपत्र नै नक्कली

२१ बिहिबार , असार २०८१४ महिना अगाडि

राजस्व रकम रेडियोग्राफरको गोजीमा, सशस्त्रका इन्स्पेक्टरको प्रमाणपत्र नै नक्कली

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा करार सेवामा कार्यरत रेडियोग्राफर खालिद अहमद सिद्दिकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उनले झुट्टा बिल भरपाई बनाएर अस्पतालको राजस्व खातामा दाखिला गर्नुपर्ने रकम आफैंले राख्ने गरेको अख्तियारको आरोप छ । अख्तियारका अनुसार खालिदले सेवाग्राहीबाट चेकजाँच तथा उपचारबापत १२ हजार रुपैयाँ लिई अस्पतालमा दाखिला नै नगरी हिनामिना गरेको पाइएको छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम १२ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको हो । यस्तै, सशस्त्र प्रहरी बल, नेपालका तत्कालिन प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकबहादुर विष्टविरुद्ध पनि मुद्दा दायर भएको छ ।

सशस्त्रको गण नं.१, गुल्म नं.४, नक्सालमा कार्यरत तत्कालिन इन्स्पेक्टर उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको अख्तियारले जनाएको छ ।

विष्टले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्, बोर्ड अफ हाई स्कुल एण्ड इण्टरमिडिएट एजुकेशन युपीबाट जारी भएको हाईस्कुल परीक्षाको झुट्टा प्रमाणपत्र पेश गरी २०५५ कात्तिक १ गते प्रहरी सहायक निरीक्षक (असई) पदमा नियुक्ति लिएको अख्तियारको दाबी छ ।

त्यसपश्चात् विभिन्न पदमा रही सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिक कैद र जरिवाना सजाय हुन मागदाबीसहित उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।