Advertisement Banner
Advertisement Banner

०५ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मेयर–उपमेयर नै भ्रष्टाचारकाे मुद्दामा तानिए

२१ बिहिबार , असार २०८१४ महिना अगाडि

मेयर–उपमेयर नै भ्रष्टाचारकाे मुद्दामा तानिए

रौतहटको कटहरिया नगरपालिकाका मेयर–उपमेयर नै भ्रष्टाचारमा तानिएका छन् । सामुदायिक भवनमा टायल्सको काम गर्दा अनियमितता गरेको भन्दै नगर प्रमुख अजय प्रकाश र उपप्रमुख रीता देवीसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

मुद्दा चलाइएका अन्यमा प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्य समिश विक्रम साह र मनोजप्रसाद जैसवाल, इन्जिनियर मकसुद आलम, बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार शाह, कोषाध्यक्ष बबिताकुमारी चौधरी र सचिव योगेन्द्र साह रहेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाबाट वडा नम्बर २, स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्सको काम गर्न रकम विनियोजन गरिएको थियो । तर, उनीहरुको मिलेमतोमा स्वीकृत लागतअनुमान बमोजिम कार्य नगरी कमसल काम भएको अख्तियारको आरोप छ ।

अख्तियारका अनुसार टायल्स फ्लोरिङको काम उपभोक्ता समितिमार्फत गर्ने गरी योजना सम्झौता भएको थियो । त्यसमा भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४.४१ वर्गमिटर रहेकोमा फिल्डमा ७२०.८१ वर्गमिटर मात्र फ्लोरिङ भएको पाइएको छ।

तर, ४७३.६० वर्गमिटर बढीमा फ्लोरिङ भएको नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयारी गरी उपभोक्ता समितिलाई १२ लाख ५२ हजार ९४१ रुपैयाँ भुक्तानी दिइएको अख्तियारको भनाइ छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम १२ लाख ५२ हजार ९४१ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।